काठमाडौं । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा लुम्बिनी अल स्टारले बिराटनगर सुपर किङसलाई जितको लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ सुरु गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनायो ।
लुम्बिनीका लागि लाहिरु मिलन्थाले सानदार ब्याटिङ गरे । उनले ६३ बलमा ५ चौका र ४ छक्काको सहयोगमा अविजित ८० रनको अर्धशतकीय इनिङ खेले ।
उनको यो लिगमा लगातार दोस्रो अर्धशतक हो ।
यस्तै कुशल भुर्तेल २६ रनमा आउट हुँदा कप्तान दिपेन्द्र सिहं ऐरीले १६ रन बनाए । बिपुल शर्मा ११ रन र अनिल शाह ६ रनमा आउट भए ।
यता बिराटनगरका लागि नन्दन यादव,हुसेन तलात, शाहब आलम, आन्द्रे म्याकार्थी र सिकन्दर राजाले समान १/१ विकेट लिए ।
यसअघि शनिबार भएको पहिलो खेलमा लुम्बिनीले फार वेस्टन युनाईटेडलाई ६७ रनले फराकिलो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको थियो ।
पहिलो खेल खेल्न लागेको विराटनगर जितका साथ प्रतियेगिताको सुरुआत गर्न चाहान्छ । पहिलो खेलमा फार वेस्टर्न युनाईटेडलाई सहज रुपमा पराजित गरेको लुम्बिनी लगातार दोस्रो जित हात पार्न चाहान्छ ।
पहिलो खेलमा जित हात पारेको लुम्बिनी २ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।