काठमाडौं । लुम्बिनी अल स्टारले नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा विजयी सुरुआत गरेको छ ।
टियु क्रिकेट मैदानमा शनिबार फार वेस्टर्न युनाईटेडलाई ६७ रनले हराउँदै लुम्बिनीले सुखद सुरुआत गरेको हो ।
लुम्बिनीले दिएको १ सय ५३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको फार वेस्टर्नले १६ ओभर २ बलमा अलआउट हुँदै ८५ रन मात्र बनाउन सक्यो ।
फार वेस्टर्नका लागि कप्तान हस्मतउल्लाह शाहिदीले सर्वाधिक ३५ रन जोडे । विनोद भण्डारीले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
फार वेस्टर्नलाई सस्तैमा समेट्न लुम्बिनीका दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । सागर ढकालले २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।
लुम्बिनीका लागि लाहिरु मिलान्थाले ५० बलमा ६० रनको अर्धशतकिय ईनिङ खेले । कप्तान दीपेन्द्र सिंह ऐरी ३५ तथा गुलसन झा २५ रनमा आउट भए ।
फार वेस्टर्नका लागि उमर अलि र करन केसीले समान ३/३ विकेट लिए ।
शनिबार नै भएको उद्घाटन खेलमा काठमाडौं नाईट्सले पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको थियो ।
पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ ।
प्रतियोगिताको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख पाउने आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने क्यानले जनाएको छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने क्यानले जनाएको छ ।