काठमाडौं । आईसीसी विश्वकप लिग टूको त्रिदेशीय सिरिज अन्तर्गतको एकदिवसीयमा स्कटल्याण्डले नेपाललाई पराजित गरेको छ ।
नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा बिहीबार भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय २० रनको लक्ष्य स्कटल्याण्डले २ विकेट गुमाएर १६ ओभर ५ बलमा पूरा गर्यो ।
स्कटल्याण्डको जितमा क्रस्टोफर म्याकब्रिडिले अविजित ४६ तथा जर्ज मुन्सिले ४५ रन बनाए ।
कायल कोट्जरले १६ रन बनाउँदा कप्तान रिचि बेरिङ्टन १२ रनमा अविजित रहे ।
नेपालका लागि गुलसन झा र दीपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर ३ बलमा अलआउट हुँदै १ सय १९ रन बनायो ।
नेपालका लागि कप्तान रोहित पौडेल सर्वाधिक ४७ रन बनाए । सोमपाल कामीले १६ तथा दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए ।
ललित नारायण राजवंशीले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
स्कटल्याण्डका मार्क वाट,ब्राण्डन म्याकमुलेन र सफियान सरिफले समान २/२ विकेट लिए ।
क्रिस्टोफर म्याकब्रिड,क्रिस सोल र क्रिस ग्रेभिसले समान १/१ विकेट लिए ।
७ टोली सहभागी विश्वकप लिग टू मा जितसँगै स्कटल्याण्डको ३२ खेलमा ४६ अंकका साथ पहिलो स्थानमा रहेको छ।
नेपाल भने २४ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ ।
यस हारसँगै नेपालको शीर्ष तीनमा रहेर विश्वकप छनोटमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।
शीर्ष पाँचमा रहेर एक दिवसीय मान्यता कायम राख्न पनि अबका बाकी रहेका १२ खेलमा कम्तीमा ९ खेलमा जित आवश्यक रहेको छ ।