काठमाडौं । आईसीसी विश्वकप लिग टूको त्रिदेशीय सिरिज अन्तर्गतको एकदिवसीयमा नेपालले स्कटल्याण्डलाई जितका लागि १ सय २० रनको लक्ष्य दिएको छ ।
युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा बिहिबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर ३ बलमा अलआउट हुँदै १ सय १९ रन बनायो ।
नेपालका लागि कप्तान रोहित पौडेल सर्वाधिक ४७ रन बनाए । सोमपाल कामीले १६ तथा दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । ललित नारायण राजवंशीले ११ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
स्कटल्याण्डका मार्क वाट,ब्राण्डन म्याकमुलेन र सफियान सरिफले समान २/२ विकेट लिए ।
क्रिस्टोफर म्याकब्रिड,क्रिस सोल र क्रिस ग्रेभिसले समान १/१ विकेट लिए ।
यस सिरिजमा दुबै देश चौथो खेल खेल्दैछन् । तेस्रो खेलमा स्कटल्याण्ड नामिबियासँग पराजित भएको थियो । नेपालले पनि तेस्रो खेलमा नामिबियासँग नै पराजित भएको थियो ।
यस सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र स्कटल्याण्डले एकआपसमा तीन एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । दुईमा स्कटल्याण्ड तथा एक खेलमा नेपाल विजेता बनेको छ ।
७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ । स्कटल्याण्ड भने ३१ खेलमा ४४ अंकका साथ पहिलो स्थानमा रहेको छ ।