काठमाडौं । विभागीय टोली एपीएफ क्लब पीएम कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ फाइनलमा पुगेको हो ।
मधेशले दिएको १ सय २३ रनको लक्ष्य एपीएफले २१ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
एपीएफको जितमा लोकेश बमले अविजित रहदै सर्वाधिक ३५ रन बनाए ।
यस्तै प्रदिप ऐरीले ३३ रन जोड्दा आसिफ शेखले २५ रन बनाए । सुमित महर्जनले १३ रन बनाए ।
मधेशका रुपेश सिंहले २ तथा राजेश यादवले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेशले ३१ ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो ।
मधेशका लागि रुपेश सिंहले अविजित रहदै सर्वाधिक ३५ रन जोडे । सन्तोष कार्कीले २० रन जोड्दा इमरान शेखले १६ रन बनाए ।
अनिल साहले १३, आदील आलमले ११ र राजेश यादवले १० रन बनाए ।
एपीएफका कमल ऐरीले ४ विकेट लिए । भुवन कार्की र मौषम ढकालले २/२ विकेट लिए ।
अब एपीएफले उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ ।
पुलिस र आर्मीबीचको दोस्रो सेमिफाइनल शुक्रबार हुनेछ ।
प्रतियोगिताको फाइनल खेल कात्तिक २६ गते शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्। यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् ।
त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन्।