काठमाडौं । इन्डियन प्रिमियर लिग(आइपीएल) टोली कोलकत्ता नाइट राइडर्सले नेदरल्यान्ड्सका पूर्व कप्तान रायन टेन डोस्काटेलाई फिल्डिङ प्रशिक्षक नियुक्त गरेको छ ।
सन् २०१२ र २०१४ मा कोलकत्ताको उपाधि विजेता टोलीका सदस्य रहेका रायनलाई जेम्स फोस्टरको स्थानमा जिम्मेवारी दिईएको हो ।
अब रायनले मुख्य प्रशिक्षक चन्द्रकान्त पण्डितसँग काम गर्नेछन् । अगस्टमा मात्र पण्डितले कोलकत्ताको मुख्य प्रशिक्षकक जिम्मेवारी लिएका थिए ।
'रायनले फिल्डिङ प्रशिक्षकको रूपमा आफ्नो नयाँ जिम्मेवारी लिएका छन् र उनी मुख्य प्रशिक्षक चन्द्रकान्त पण्डित, अभिषेक नायर (सहायक प्रशिक्षक), भरत अरुण (बलिङ प्रशिक्षक) र ओमकार साल्भी सहायक बलिङ प्रशिक्षकका लागि ठूलो सहयोग हुनेछन्,' कोलकत्ताले एक विज्ञप्तीमार्फत भनेको छ ।
रायनले सन् २०११ देखि २०१५ सम्म कोलकत्ताका लागि आइपीएलमा २९ खेल खेलेका थिए ।
उनले ३ सय ८२ टी–ट्वान्टी खेलेका छन्, जसमा उनले ७ हजार ५ सय ९७ रन बनाएका छन् भने १ सय १४ विकेट र १ सय ३४ क्याच लिएका छन् ।
सन् २०२१ को टी–ट्वान्टी विश्वकपपछि उनले व्यावसायिक क्रिकेटबाट सन्यास लिएका थिए ।