काठमाडौं । करियरको सुरुआती ४ टी-ट्वान्टी अन्तराष्ट्रियमा लगातार अर्धशतक प्रहार गरेर कीर्तिमान बनाएका नेपालका युवा ओपनर कुशल भुर्तेलले मंगलबार उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् ।
राजधानीमा जारी रहेको पीएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशविरुद्ध ८ दशमलब ४ ओभरमा २ मेडन राखेर २२ रन खर्चिदै ५ महत्वपुर्ण विकेट लिए । क्रिकेट करियरमा भुर्तेलले एकै ईनिङमा लिएको यो नै पहिलो पाँच विकेट हो ।
भुर्तेलले १७ दशमलब १ ओभरमा रतन रौनकलाई एबीडब्लुको धरापमा पारेर विकेटको खाता खोलेका थिए । उनले लगत्तैको बलमा राजेश यादवलाई पेभीलियनको मार्ग देखाए । २१ दशमलब ३ ओभरमा रुपेश सिंह तथा २३ दशमलब २ ओभरमा प्रदिप पासवानलाई आउट गराए । अन्तिम तथा महत्वपुर्ण विकेटका रुपमा ४२ रनमा क्रिजमा रहेका आदिल आलमलाई बोल्ड आउट गरे ।
विस्फोटक ब्याटिङ क्षमताको पहिचान बनाएका उनको ब्याटिङले लय लिन सकेको छैन । उनले यस पीएम कपमा ४ खेलमा मात्र १ सय १६ रन बनाउँदा प्रदेश एकविरुद्ध ४२ रनको सर्वाधिक ईनिङ खेलेका छन् ।
'बलिङमा देखिएको यो सफलता पछिल्लो समय मैले नेटमा बलिङ अभ्यासमा ध्यान दिएका कारण पनि हुन सक्छ,' खेल पछि पत्रकारहरुसँग कुराकानीका क्रममा उनले भने 'तर,बलिङका कारण पाएको सफलतामा भन्दा मलाई ब्याटिङमा पाईने साना साना सफलताले बढी खुशी दिन्छ ।'
आफुबाट ठूलो रनको अपेक्षा रहेको भए पनि सो सफलता दिन नसक्दा दुख लागेको उनले बताए । सेमिफाईनल तथा फाईनलमा आफ्नो ठूलो ईनिङ आउन सक्ने समेत उनले बताए ।
पीएम कपको उपाधि जितेर टिमलाई सफलता दिन आफु टिमका लागि पूरा योगदानका लागि तयार रहेको उनले बताए ।
नेपाल पुलिस क्लबले फाईनल प्रवेशका लागि अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग कात्तिक २५ मा दोस्रो सेमिफाईनल खेल्ने छ ।