काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ४० रनले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।
आर्मीले दिएको २ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले २८ ओभर ३ बलमा ९ विकेट १ सय १४ रन मात्र बनाउन सक्यो ।
कर्णालीका विपिन रावलले सर्वाधिक ४८ रन बनाए । अर्जुन घर्तिले १७ तथा प्रकाश जैशी र सन्दीप शाहीले समान ११/११ रन बनाए ।
कर्णालीका हिमान्सु शाही इब्सेन्ट हर्ट भए ।
आर्मीका रोहित पौडेलले ३ तथा हरि चौहान र शाहब आलमले २/२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले अविजित रहदै सर्वाधिक ३७ रन बनाए ।
कुशल मल्ल र रोहित पौडेलले समान ३५/३५ रन जोडे । हरि चौहानले ३१ रन जोड्दा अर्जुन साउदले २० रन बनाए ।
राजेश पुलामी २८ रनमा अविजित रहदा अनिल मण्डल १७ रनमा आउट भए ।
कर्णालीका प्रकाश जैसीले ३ विकेट लिए । दीपेन्द्र रावतको नाममा २ विकेट रह्यो ।
यस जितसँगै आर्मीले समूह 'ए' को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
आर्मीले ४ खेलमा ६ अंक जोड्यो ।
यस समूहबाट एपीएफ ७ अंक जोडेर समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरिसकेको छ ।
आर्मीको जितले गण्डकी भने बाहिरिएको छ ।
कर्णाली पनि अंक विहीन रहदै पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।