काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब समूह विजेता बन्दै पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा मधेश प्रदेशलाई १ सय ९१ रनले हराउँदै पुलिस समूह विजेता बनेको हो।
पुलिसले दिएको २ सय ७४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मधेशले २९ ओभर ३ बलमा अलआउट हुँदै ८२ रन मात्र बनाउन सक्यो ।
मधेशका लागि मोहमद आदील आलमले सर्वाधिक ४२ रन जोडे ।
रतन रौनकले ११ तथा कप्तान हरिशंकर शाहले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
मधेशलाई सस्तैमा समेट्न पुलिसका कुशल भुर्तेलले ५ विकेट लिए । करण केसीले ३ तथा राशिद खानले २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ७३ रन बनाएको थियो ।
पुलिसका लागि आरिफ शेख, अमित श्रेष्ठ र कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाए ।
आरिफले ७३ रनको अर्धशतकीय इनिङ खेल्दा अमित श्रेष्ठले ६५ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै दीपेन्द्रले ५१ रनको अर्धशतकीय इनिङ खेले ।
दिलिप नाथले ४० रन जोड्दा सुनिल धमला ११ रनमा आउट भए ।
मधेशका रुपेश सिंह र राजेश यादवले ३/३ विकेट लिए । आदील आलमले २ विकेट लिए ।
यस जितसँगै समूह 'बी' को शीर्ष स्थानमा रहेको पुलिसले ४ खेलमा अपराजित रहदै ८ अंक जोड्यो ।
मधेशले ४ खेलमा ५ अंक जोड्यो । मधेशले पनि समूह उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।