काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले जित निकालेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आइतबार लुम्बिनीले प्रदेश-१ लाई ३९ रनले हराएको हो ।
लुम्बिनीले दिएको २ सय ९१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश-१ ले ४६ ओभरमा अलआउट हुँदै २ सय ५१ रन मात्र बनाउन सक्यो ।
प्रदेश-१ का कप्तान सिदान्त लोहनीले ७४ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
अंकित सुवेदीले ५२ रनको अर्धशतकीय इनिङ खेल्दा निरज मुखियाले ४६ रन बनाए ।
सोनु मण्डलले अविजित २० र सर्वन यादवले १५ रन बनाए ।
लुम्बिनीका दुर्गेश गुप्ता,बसिर अहमेद र देव खनालले २/२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान देव खनालले ८९ रनको अर्धशतकीय इनिङ खेले ।
आकाश त्रिपाठीले ४५ रन जोड्दा सन्दीप रजालीले ४४ रन बनाए ।
विशाल बिक्रम केसीले ३२ र कृष्ण कार्कीले ३१ रन बनाए । बसिर अहमेदले १३ रन जोडे ।
प्रदेश-१ का दिपक जोशीले ४ तथा सर्वन यादवले २ विकेट लिए ।
जितसँगै लुम्बिनी ४ खेलमा ४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
प्रदेश-१ एक जित सहित प्रतियोगिताबाट बाहिरिएको छ ।