काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मीले पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सहज जित निकालेको छ ।
मुलपानी क्रिकेट मैदानमा आइतबार आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले हराएको हो ।
आर्मीले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३२ ओभर २ बलमा अलआउट हुँदै ९६ रनमा समेटियो ।
गण्डकीका लागि समिर कडेलले सर्वाधिक ३९ रन बनाए । कप्तान विपिन खत्री १९ र अर्जुन कुमालले १४ रन बनाए ।
यता आर्मीको सहज जितमा सुसन भारीले सर्वधिक ५ विकेट लिए । उनले नौं ओभरमा १४ रन खर्चेर २ मेडनसहित ५ विकेट लिएका हुन् । यस्तै कुशल मल्ल र साहब आलमले समान २/२ विकेट लिए भने बिक्रम सोबको नाममा एक विकेट रह्यो ।
त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीको लागि कप्तान विनोद भण्डारीले अर्धशतकीय इनिङ खेले । उनले ७९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५४ रनमा आउट भए । यस्तै विक्रम सोब ३९, अनिल मण्डलले २६ र अर्जुन साउदले १३ रन बनाए ।
गण्डकीका लागि विपिन खत्रीले सर्वाधिक ४ विकेट लिए । यस्तै कमल परियार २, सुवास भण्डारी, चन्द्र पौडेल र अमूत गुरुङले ११ विकेट लिए ।
उक्त जितसँगै आर्मीले ३ खेलबाट ४ अंक बनाउँदै सेमिफाइनलको सम्भावना कायम राखेको छ ।
पराजित गण्डकीको ४ खेलबाट ५ अंकसहित दोस्रो स्थानमा यथावत रहेको छ । यस समूहबाट एपीएफ क्लब तीन खेल जितेर सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।