काठमाडौं । मधेश प्रदेशले पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।
मुलपानी क्रिकेट मैदानमा शनिबार लुम्बिनी प्रदेशलाई ९२ रनले हराउँदै मधेशले दोस्रो जित निकालेको हो ।
मधेशले दिएको २ सय ६० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले ४९ ओभर १ बलमा अलआउट हुँदै १ सय ६७ रन मात्र बनाउन सक्यो ।
लुम्बिनीका लागि विशाल बिक्रम केसीले ३४ रन जोडे । कृष्ण कार्कीले ३१ रन जोड्दा सन्दीप रजालीले २३ रन जोडे ।
अनिल खरेलले २२ तथा बसिर अहमेद र मोहमद हुसेनले समान १५/१५ रन जोडे ।
मधेशका लागि राजेश यादव र प्रदिप पासवानले ३/३ विकेट लिए । हरिशंकर साहले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेशले ४८ ओभर ४ बलमा अलआउट हुँदै २ सय ५९ रन बनायो ।
मधेशका लागि हरिशंकर साह, सन्तोष कार्की र अनिल साहले अर्धशतकीय इनिङ खेले ।
कप्तान हरिशंकरले ७६ रन बनाए भने सन्तोष र अनिलले समान ५०/५०रन बनाए ।
विवेक यादवले २१ रन जोड्दा मोहम्मद आदीलले १२ तथा इमरान शेखले १० रन बनाए ।
लुम्बिनीका कृष्ण कार्कीले ३ तथा अनिल खरेलले २ विकेट लिए ।
जितसँगै मधेशले ३ खेलमा ४ अंक जोडेको छ ।
समूह बी को मधेश दोस्रो स्थानमा रहेको छ ।
लुम्बिनीको यो दोस्रो हार हो ।
लुम्बिनी ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।