काठमाडौं । नाबालिगलाई बलात्कारको आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दा आज बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको मुद्दा बिहीबार हेर्दाहेर्दैमा राखिएको हो ।
यस्तै इजलासले जवाफी बहस गर्न सरकारी वकिललाई शुक्रबार बोलाएको छ।
सन्दीपविरुद्धको मुद्दामा हिजो बुधबारबाट थुनछेक बहस सुरू भएको थियो । आज सन्दीपको तर्फबाट ८ जना वकिलहरुले बहस गरेका थिए ।
सन्दीपको पक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ताहरूमा लवकुमार मैनाली, कृष्णप्रसाद सापकोटा, सबिता भण्डारी बराल र रमणकुमार श्रेष्ठ तथा अधिवक्ता सुवास पाठक, सुधा रिजाल, प्रवीण सुवेदी र अनुराग सुवेदी छन् ।
यस अघि मंगलबार सन्दीपको बयान सकिएको थियो । सन्दीपले पीडित किशोरीले कसैको उक्साहटमा आफूमाथि झुटो अभियोग लगाएको बयान दिएका छन् ।
सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।
भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।