काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले पीएम कप एकदिवसीय पुरुष क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा बिहीबार लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै पुलिसले अपराजित यात्रा कायम राखेको हो ।
यस जितसँगै पुलिस सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।
लुम्बिनीले दिएको १ सय ८९ रनको लक्ष्य पुलिसले ३७ ओभर १ बलमा ४ विकेट गुमाएर १ सय ९२ रन जोड्दै पूरा गर्यो।
पुलिसको जितमा दीपेन्द्र सिंह ऐरीले अविजित रहदै सर्वाधिक ४३ रन बनाए ।
आरिफ शेखले ३५ रन बनाए । यस्तै सुनिल धमलाले ३६ रन जोड्दा कुशल भुर्तेलले ३२ तथा अमित श्रेष्ठले २८ रन बनाए ।
लुम्बिनीका अनिल खरेलले २ तथा दुर्गेश गुप्ता र मुहमद हुसेनले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४४ ओभर २ बलमा अलआउट हुँदै १ सय ८८ रन बनाएको थियो।
लुम्बिनीका लागि कप्तान देव खनालले ७४ रनको अर्धशतकीय इनिङ खेले ।
विशाल बिक्रम केसीले ३० रन जोड्दा प्रज्वल थापाले २३ रन बनाए । दुर्गेश थापा र मोहमद हुसेनले समान ११/ ११ रन बनाए ।
पुलिसका दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिए । सागर ढकाल र करण केसीले २/२ विकेट लिए ।
जितसँगै पुलिसले ३ खेलमा ६ अंक जोडेको छ ।
पुलिस समूह 'बी' को शीर्ष स्थानमा रहेको छ ।
लुम्बिनी २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।