काठमाडौं । काठमाडौं जिल्ला अदालतले नाबालिगलाई बलात्कारको आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा असोज २० गते पक्राउ परेका सन्दीपलाई प्रहरीले म्याद थपका लागि सोमबार अदालतमा उपस्थिति गराएको थियो ।
असोज २० गतेबाट लागू हुने गरि सात दिनको हिरासतमा राख्ने म्याद आज सकिएको थियो । पुनः अदालतमा पेश गरिएको सन्दीपलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको हो ।
सन्दीपविरुद्ध भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।
यस्तै भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सन्दीपले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट पुर्याएको र त्यसपछि काठमाडौंको एक होटलमा ल्याएर रातको समय जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।
सन्दीपले आफुविरुद्ध झुटो आरोप लागेको बताउँदै कानुनी लडाई लड्ने बताउँदै आएका छन् ।
उनले आफु निर्दोष रहेको र आफुले छिटो भन्दा छिटो न्याय पाउनेमा विश्वस्त रहेको बताउँदै आएका छन् ।