एजेन्सी । इन्ग्लिश क्रिकेटर मोइन अलीलाई अष्ट्रेलियाका खेलाडीले 'ओसामा' भन्दै जिस्काएको बिषयमा क्रिकेट अष्ट्रेलियाले अनुसन्धान गर्ने भएको छ ।
सन् २०१५ को एसेज क्रिकेट सिरिजको दौरान अलराउन्डर अलीलाई अष्ट्रेलियाका खेलाडीले 'ओसामा' उपनामले बोलाएका थिए । तर, अलीले यो कुराको खुलासा आफ्नो आउन लागेको बायोग्राफीबाट खुलासा गरेका हुन् । इंग्ल्यान्डमा भएको उक्त एसेज क्रिकेट सिरिज घरेलु टोलीले ३ – २ ले जितेको थियो ।
३१ बर्षीय अलीले आफ्नो बायोग्राफीमा एसेजको दौरान अष्ट्रेलियन खेलाडीले 'ओसामा' आतंकवादी समूह अलकायदाका नेता ओसामा बिन लादेनसंग तुलना गर्दै जिस्काएको बताएपछि क्रिकेट अष्ट्रेलियाले अनुसन्धान गर्ने भएको बीबीसीले जनाएको छ ।
अलीले बायोग्राफीमा भनेका छन्, 'एक अष्ट्रेलियन खेलाडीले मैदानमा मलाई हेर्दै 'ओसामा' लाई आउट गर भन्यो । मैले जे सुनिरहेको थिए, मलाई विश्वास गर्नै गार्हो भएको थियो ।'
आफुलाई 'ओसामा' भनेको बिषयमा आफुले प्रशिक्षक र अष्ट्रेलियाका तत्कालिन प्रशिक्षक लेहमनलाई सुनाएको बताउदै अलीले थपे, 'म अझै सम्झिन्छु, क्रिकेटका दौरान म त्यसबेला जस्तो कहिले पनि रिसाएको थिइन ।'
क्रिकेट अष्ट्रेलियाले यो बिषयमा छानबिन गर्न इंग्ल्यान्ड र वेल्स किकेट बोर्डसंग छलफल गरिरहेको जनाएको छ ।
क्रिकेट अष्ट्रेलियाका प्रवक्ताले भनेका छन्, 'यस प्रकारका टिप्पणीहरू हाम्रो खेल र कुनै पनि स्थानमा स्विकार्य छैन । हाम्रो देशमा सम्मान र व्यवहारहरु स्पष्ट छ । हामी यस विषयलाई गम्भीरतापूर्वक लिन्छौं र घटनाको अनुसन्धानको लागि इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डसंग काम गर्नेछौं ।'