काठमाडौं । नेदरल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले जितको लागि १९० रनको लक्ष्य पाएको छ । नेदरल्याण्डले दिएको १९० रनको लक्ष्यसहित नेपालले केहि बेरमा जवाफी ब्याटिङ गर्नेछ ।
नेपाली बलर चम्किएपछि टस जितेर पहिले ब्याटिङ्ग गरेको नेदरल्याण्डले ४७ ओभर ४ बलमा अलआउट हुँदै १८९ रन बनाउन सक्यो ।
नेदरल्याण्डका माइकल रिप्पोनले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । यस्तै, बास डी लिडले ३०, स्टेफेन माईबर्गले २९, बेन कुपरले २०, स्कोट एडवार्डले १८ रन जोड्दा फ्रेड क्लासेनले ११ रनमा अाउट भएका थिए ।
नेपालका कप्तान पारस खड्काले किफायती बलिङ गरे । पारसले १० ओभर बलिङ गर्दै २६ रन खर्चेर ४ विकेट लिए । यस्तै सोमपाल कामीले ३ विकेट लिए । नेपालका सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले एक एक विकेट लिए ।
नेपालले अहिले नेदरल्याण्डविरुद्ध ऐतिहासिक खेल खेलिरहेको हो । गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाटअन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएपछि नेपालले डेब्यु खेल खेलिरहेको हो ।
छनोटमा एसोसिएटतर्फ उत्कृष्ट तीन टोलीमा रहेर नेपालले ऐतिहासिक सफलता पाएको थियो । चार बर्षको लागि नेपालले पाएको मान्यता यहीँ जुलाईबाट लागु भएको हो ।
नेपालले एसोसियट राष्ट्रको मान्यता पाएको २२ बर्षपछि एकदिवसीय राष्ट्रको मान्यता पाएको हो । सन् १९९६ माएसोसियट राष्ट्रको मान्यता पाएको नेपाल सन् १९८८ मा आईसीसीको सदस्य बनेको थियो ।
नेपालले एकदिवसीय मान्यता पाएपछि नेदरल्याण्डले ऐतिहासिक क्षणको लागि आथित्यमा प्रदान गरेको हो । नेदरल्याण्डविरुद्धको दुई सिरिजपछि नेपालका भेट्रान स्पिनर शक्ति गौचनले सन्यास लिनेछन् ।