एजेन्सी । इंग्ल्याण्डका अलराउण्डर बेन स्टोक्सले न्युजिल्याण्डका कप्तान केन विलियम्सनसँग माफी मागेका छन् ।
विश्वकप फाइनलमा अन्जानमा आफ्नो ब्याटमा लागेर आफ्नो टोलीले अतिरिक्त ४ रन प्राप्त गरेपछि स्टोक्सले विलियम्सनसँग माफी मागेका हुन् ।
लर्ड्समा आइतबार भएको फाइनलमा न्युजिल्याण्डमाथि सर्वाधिक बाउन्ड्रीको आधारमा पराजित गर्दै इंग्ल्याण्डले उपाधि जितेको थियो ।
न्युजिल्याण्डले दिएको २ सय ४२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डलाई अन्तिम ओभरमा जितका लागि १५ रन आवश्यक थियो । पहिलो २ बल डट गरेका ट्रेन्ट बोल्टलाई तेस्रो बलमा स्टोक्सले छक्का प्रहार गरेका थिए ।
चौथो बलमा स्टोक्सले २ रनका लागि दौडिएका थिए । भाग्यवस मार्टीन गुप्टिलले रन आउटका लागि फालेको बल स्टोक्सले डाइभ गर्दा ब्याटमा लागेर बल बाउन्ड्री पुगेको थियो । र, इंग्ल्याण्डले ६ रन प्राप्त गरेको थियो ।
उपाधि जितेपछि स्टोक्सले अन्जानमा उक्त घटना भएको बताउदै विलियम्सनसँग माफी मागे ।
'मैले जानीजानी बललाई हिर्काएको हैन ।' स्टोक्सले भने,'यसको लागि म जीवनभर क्षमाप्राथी छु ।'
यस्तै स्टोक्सले चार बर्षको कडा मेहनतले विश्व विजेता बनेकोमा खुसी व्यक्त गरे । फाइनलमा उनी प्लेयर अफ दि म्याच बने ।