काठमाडौं । नेपाली क्रिकेटको सदाबहार कमजोरी ब्याटिङमै छ । करिब २३ बर्षे लामो क्रिकेट इतिहासमा नेपालको बलिङ नै बलियो पक्ष रह्यो, खास गरि स्पिन ।
ब्याटिङकै कारण नेपाल थुप्रै खेलमा पराजित हुँदै आएको छ । ब्याटिङमा पनि ओपनिङ साझेदारी कहिल्यै सन्तोषजनक रहेन । जसले गर्दा सुरुवातमै खेल विकास गर्ने खेलाडीको खाँचो नेपालीले सदाबहार महशुश गरेको बिषय हो ।
यसै बर्ष युएई भ्रमणमा ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले एक दिवसीय खेलमा ६१ रनको साझेदारी गरे । जुन नेपालको एक दिवसीय खेलमा उत्कृष्ट र सर्वाधिक ओपनिङ साझेदारी हो ।
यस्तै टी–ट्वान्टीमा सुवास खकुरेल र सागर पुनले सन् २०१४ को आईसीसी विश्व टी–ट्वान्टीमा हङकङविरुद्द गरेको ३६ रनको साझेदारी सर्वाधिक ओपनिङ साझेदारी हो
टी–ट्वान्टीमा सन् २०१४ को आईसीसी विश्व टी–ट्वान्टीमा बंगलादेशविरुद्द कप्तान पारस खड्का र शरद भेषवाकरले चौथो विकेटकालागि गरेको ८५ रनको साझेदारी कुनै पनि विकेटको लागि सर्वाधिक हो ।
एक दिवसीयतर्फ सन् २०१९ को युएई भ्रमणमा आरिफ शेख र रोहित कुमार पौडेलले छैटौं विकेटका लागि सर्वाधिक ८२ रनको साझेदारी गरेका थिए । यो साझेदारी हालसम्म नेपालको एक दिवसीय खेलमा भएको सर्वाधिक साझेदारी हो ।
हालसम्म नेपालले ओपनिङका लागि थुप्रै खेलाडीको परिक्षण गरेको छ । तर कुनै पनि खेलाडीले नियमित साझेदारीमा उत्कृष्ट नतिजा दिन सकेका छैनन् ।
यसको कारण कप्तान पारस खड्का मध्य क्रमबाट ओपनिङमा आउन परेको छ । केही बर्षअघि ओपनिङमा कुनै खेलाडीले भरोसा दिलाउन नसक्दा ज्ञानेन्द्र मल्ल पनि वान डाउनबाट ओपनिङका लागि आउनु परेको थियो ।
मलेसिया भ्रमणमा रहेको नेपालका लागि पहिलो टी–ट्वान्टीमा पारसले प्रदिप ऐरीसंग ओपनिङ गर्न मैदान उत्रिएका थिए । ४ ओभर ३ बलमा २९ रनको स्तिथीमा प्रदिपले १७ बलमा ८ रन बनाउँदै पोभिलियन फर्किएका थिए । खड्काले भने ५० बलमा अविजित ८६ रनको कीर्तिमानी अर्धशतकीय इनिङ्स खेल्दै नेपाललाई सहज जित दिलाए ।
बारम्बार नेपालको ओपनिङ जोडी असफल हुँदा नेपालको भविश्यमा के होला भन्ने ठुलो चिन्ताको विषय बनेको छ । अब नेपालले पुराना खेलाडी भन्दा युवा खेलाडीलाई अहिलेदेखि ओपनिङमा विकास गर्दै लैजानु पर्ने देखिन्छ ।
पछिल्ला समयमा उमेर समुहको खेललाई हेर्दा नेपालले निम्न ३ खेलाडीलाई ओपनर खेलाडीको रुपमा विकास गर्न सक्छ ।
१ रित गौतम
रित गौतम नेपाली राष्ट्रिय यू–१९ क्रिकेट टोलीका सदस्य तथा यू–१६ का पुर्व कप्तान हुन् । उनले दुई फरक नेपाली उमेर समूहको क्रिकेटमा शतक प्रहार गर्ने एकल खेलाडी हुन् ।
रितले सबै प्रतियोगितामा ओपनिङ गर्दै आएका छन् । भर्खरै सकिएको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालका लागि ओपनिङ गर्दै ४ खेलमा १४१ रन बनाएका थिए । सिंगापुरविरुद्द अविजित शतकीय इनिङ्स खेलेका उनी प्रतियोगितामा शतक प्रहार गर्ने एकल खेलाडी हुन् ।
साथै रित प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको चौथो तथा नेपालका लागि दोस्रो स्थानमा रहे । प्रतियोगितामा रितको औसत ७० दशमलब ५० रहेको थियो । जुन सर्वा्धिक हो ।
यस्तै उनले तेस्रो संस्करणको पीएम कपमा प्रदेश ३ का लागि ओपनिङ गरेका थिए । प्रतियोगितामा सय रन बनाएका उनी टिमका सर्वाधिक रन बनाउने तेस्रो खेलाडी थिए । उनी भन्दा अघि इशान पाण्डे १ सय ८० रन र ज्ञानेन्द्र मल्ल १ सय ४३ रन बनाएका थिए ।
तीन महिना अघि भएको आईसीसी यू–१९ विश्वकप छनोट प्रतियोगितामा समेत रितको प्रदर्शन उत्कृष्ट रहेको थियो । प्रतियोगितामा उनले ३९ को औसतमा १५६ रन बनाएका थिए । र उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको पाँचौं तथा नेपालको दोस्रो स्थानमा रहेका थिए ।
आवश्यकता अनुसार मैदानमा शानदार प्रदर्शन गर्ने रितको खुबी हो । छोटो लक्ष्य पछ्याउने क्रममा उनी धेरै पटक अविजित फर्कने गर्छन ।
२ पवन सरार्फ
नेपाली राष्ट्रिय यू–१९ टोलीका अर्का ओपनर हुन्, पवन सरार्फ । नेपालका लागि उमेर समुहमा ओपनिङ गर्ने पवन घरेलु तथा सिनियर टोलीमा मध्य क्रममा ब्याटिङ गर्ने गर्छन् ।
एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालका लागि ओपनिङ गर्दै ४९ दशमलब ३३ को औसतमा १४८ रन बनाएका थिए । प्रतियोगितामा पवन सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो तथा नेपालको लागि पहिलो स्थानमा रहे ।
यस्तै आईसीसी यू–१९ विश्वकप छनोट प्रतियोगितामा २७ दशमलब २० को औसतमा १३६ रन बनाएका थिए । उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने सुचिमा छैठौं स्थानमा रहे । नेपली ब्याट्सम्यान मध्य पवन सर्वाधिक रन बनाउने तेस्रो खेलाडी हुन् । उनी भन्दा अघि रोहित कुमार पौडेल १९४ रन र रित गौतम १५६ रन बनाएका थिए ।
अल राउण्ड प्रदर्शन गर्ने पवनले सिनियर टिमबाट यसै बर्ष डेब्यु गरेका थिए । युएईविरुद्द डेब्यु गरेका उनले फिनिसरको भूमिका निर्वाह गरेका थिए ।
पवनले आफ्नो प्रदर्शनमा निरन्तरता ल्याउने हो भने भविष्यमा सिनियर टोलीबाट ओपनिङको भुमिका निर्वाह गर्न सक्छन् भन्ने उनको उमेर समुहको प्रदर्शनले देखाउँछ ।
३ खडक बोहरा
विकेटकिपर ब्याट्सम्यान खडक हालसालै सकिएको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा अन्तराष्ट्रिय खेलमा डेब्यु गरेका हुन् । खडकले पछिल्लो समय घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
ओपनिङ ब्याटिङ गर्ने उनी आठौँ राष्ट्रिय खेलकुदमा उत्कृष्ट ब्याट्सम्यान घोषित भएका थिए । साथै तेस्रो संस्करणको पीएम कपमा समेत उनी उदयमान खेलाडी घोषित भएका थिए ।
एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा रित र पवनले ओपनिङ गरेपछि खडक तेस्रो स्थानमा ब्याटिङ गरेका थिए । चीनविरुद्दको खेलमा ब्याटिङ पालो नआएको उनले सिंगापुरविरुद्द भने शतकबाट १० रनले चुके । प्रतियोगितामा नेपालबाट खडक सर्वाधिक रन बनाउने तेस्रो खेलाडी हुन् ।
ओपनिङ ब्याटिङ गर्न रुचाउने र घरेलु प्रतियोगितामा सफल रहेका उनको उमेर समुह यात्रा सुरु भएको छ । उनमा सिनियर खेलाडीले जस्तै ब्याटिङ गर्ने क्षमता रहेको क्रिकेटका जानकार बताउँछन् ।
उनलाई केही समय यू–१९ राष्ट्रिय टोलीबाट ओपनिङ गराउँदै विकास गर्ने हो भने उनी भविष्यमा सिनियर टोलीबाट ओपनिङ गर्न सक्ने क्षमता राख्छन् ।