काठमाडौं । एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको पहिलो सेमिफाइनलमा आयोजक मलेसियाले नेपाललाई जितका लागि ८८ रनको सामान्य लक्ष्य दिएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४० ओभर ५ बलमा अलआउट हुँदै ८७ रन बनायो ।
नेपाली बलर चम्किएको खेलमा मलेसियाका मुहमद आमिरले सर्वाधिक २४ रन बनाए । यस्तै हैकल मोहमद खेरले १२,वान अमिरुलले ११ तथा अहमेद अकमल अलिफले १० रन बनाए ।
नेपालका सागर ढकालले ३ तथा कुशल मल्लले २ विकेट लिए ।
आज नेपाल मलेसियालाई हराएर फाइनल प्रवेश गर्ने लक्ष्यसहित मैदान उत्रिएको छ। समूह चरणमा अपराजित रहदै समूह विजेता बनेको नेपाल घरेलु टोलीलाई स्तब्ध पार्दै उपाधि होड कायम राख्न चाहन्छ ।
पहिलो खेलमा चीनलाई १० विकेटले हराएको नेपालले दोस्रो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । समूह ए मा रहेको नेपालले २ खेलमा ४ अंक जोडेको थियो ।
साबिकको विजेता समेत रहेको नेपाललाई मलेसियाविरुद्ध जित निकाल्न सहज भने हुने छैन । घरेलु समर्थकको साथ पाएको मलेसिया पनि नेपाललाई स्तब्ध पार्दै फाइनल पुग्न चाहन्छ ।
समूह चरणमा नेपालले २ खेलमा २ जित निकालेको थियो । मलेसियाले ३ खेलमा २ जित निकाल्दै समूह उपविजेता बनेको थियो । समूह बी मा रहेको मलेसियाले थाईल्याण्ड र भुटानलाई पराजित गर्दा हङकङसँग हार व्यहोरेको थियो ।