काठमाडौं ।
गत बर्षको लिगमा रेलिगेशन थिएन । एनआरटी भाग्यबस रेलिगेशनबाट बच्यो । कारण एनआरटीले अन्तिममा रहेर लिगको अन्त्य गरेको थियो ।
यस पटक एनआरटी दुई अंक गुमाएर लिगको सुरुवात गर्नेछ । गत सिजन अन्तिम स्थानमा भएको कारण एनआरटीले स्वत दुई अंक गुमाउनेछ ।
मंगलबार लिगको चौथो खेलमा एनआरटीले सरस्वती युथ क्लबसंग प्रतिस्पर्धा गर्न लागेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल मध्यान्न साढे १२ बजे सुरु हुनेछ ।
लिगको पहिलो खेलमा दुबै टिम स्पष्ट तीन अङ्क बटुल्न प्रयास गर्नेछन् ।
एनआरटीका मुख्य प्रशिक्षक राजुकाजी शाक्य पहिलो खेल निकै महत्वपूर्ण हुने हुँदा तीन अंकको लागि खेल्ने बताउँछन् ।
“पहिलो खेल सबै क्लबको लागि महत्वपूर्ण हुन्छ । त्यसैले सरस्वतीविरुद्ध तीन अंकको लागि खेल्छौ ।“ गतबर्ष च्यासल युथ क्लब हेरेका शाक्य भन्छन् ।
उनको प्रशिक्षणमा गतबर्ष च्यासलले आठौंं स्थान प्राप्त गरेको थियो । नेपाल यू–२३ टिम समेत हेरिसकेका उनी एनआरटीलाई शीर्ष ६ भित्र अटाउने लक्ष्यमा छन् ।
एनआरटीले यस पटक राष्ट्रिय टिमका पुर्ब सदस्य प्रकाश बुढाथोकी, सागका स्वर्ण बिजेता टिमका सदस्य स्ट्राइकर राजेश पराजुली सहित नेपाल पुलिस क्लबका पुर्ब कप्तान बिक्रम धिमाललाई मुख्य खेलाडीको रुपमा क्लबमा जोडेको छ ।
गत सिजन दुवै क्लबको भिडन्तमा सरस्वतीले २–१ ले बाजी मारेको थियो ।
खेलमा सरस्वतीका राज शाही म्यान अफ दि म्याच घोषित भएका थिए ।
यता, सरस्वतीका प्रशिक्षम प्रदिप नेपाल पुन एनआरटीलाई लिगमा हराउने योजना रहेको बताउँछन् । गत बर्ष सरस्वती हेरेका उनी एनआरटीसंग सोही नतिजा निकाल्ने प्रष्ट पार्छन् ।
“एनआरटीविरुद्ध खेल्न टिम तयार छ, खेलाडी तयार छन् । हामी तीन अंकको लागि खेल्छौ ।“ उनी भन्छन् ।
प्रशिक्षक नेपाल क्लबका बिदेशी खेलाडी पहिलो खेलमै उपलब्ध हुने कारण जित निकाल्न सहज हुने बताउँछन् ।
लिगको चौथो खेलसम्म आईपुग्दा अन्य क्लबको भिषा समस्या आउँदा बिदेशी खेलाडी खेल्न पाएका छैनन् ।