काठमाडौं । मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता, महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता, जुनियर मिस्टर काठमाडौं प्रतियोगिता तथा पुरुष स्पोर्ट्स फिजिक्स प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न अन्तरक्रियाको आयोजना गरिएको छ ।
आयोजक काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघ (केबिबिएफए) ले आइतबार अन्तरक्रियाको आयोजना गरेको हो ।
नक्सालमा भएको अन्तरक्रियामा विभिन्न ४२ फिट्नेस क्लबका १ सय २० प्रतिनिधिको सहभागिता रहेको थियो । अन्तरक्रियामा सहभागीहरुले प्रतियोगितालाई सफल बनाउने सम्बन्धमा आ–आफ्नो धारणासहितको सुझाव दिएका थिए ।
‘प्रतियोगिता आयोजना गर्नु मात्र सब थोक होइन । यसलाई प्राविधिक र व्यवस्थापकीय रुपमा स्तरीय बनाउनु महत्वपूर्ण पक्ष हो । यहि कुरालाई मध्यनजर राखि हामीले अन्तरक्रिया आयोजना गरेका हौं ।’– आयोजक केबिबिएफएका अध्यक्ष सुरेश सुवेदीले भने ।
भदौ २० र २१ गते काठमाडौंमा हुने प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख ३० हजार रुपैयाँ रहेको छ ।