काठमाडौं । नेपाली खेलकुदकै प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपल्स च्वाइस अवार्डमा मनोनित भलिबल खेलाडी रेश्मा भण्डारीको सहयोगार्थ मैत्रीपूर्ण भलिबल खेलको आयोजना भएको छ ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा शनिबार तीन महिला टिमबीच मैत्रिपूर्ण खेल भएको हो ।
उक्त मैत्रीपूर्ण खेल विनिता बुढाथोकी रहेको 'टिम ब्लु' ले जितेको छ । फाइनलमा टिम ब्लुले रेश्मा भण्डारीको टिम 'टिम रेड' लाई २५-१४, १४-२५ र १५-१३ को सेटमा हराएको थियो । त्यसअघि टिम ब्लुले 'टिम ग्रीन' लाई हराएको थियो ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र पूर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय महिला खेलाडीले आयोजना गरेको मैत्रीपूर्ण खेलबाट उठेको रकम रेश्मालाई जिताउन खर्च गरिनेछ । यस्तै रेश्मालाई भोट गर्नको लागि विभिन्न कार्यक्रमको आयोजना गर्ने छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने अवार्ड अन्तर्गतको पिपल्स च्वाइस विधामा रेश्मासहित क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयनमा रहेका छन् ।
एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजकका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाईसको विजेता चयन गरिन्छ ।