काठमाडौं । नेपाल आर्मीका रोशन नगरकोटी र कास्कीका अशिम शेरचन छैटौं लक्ष्मणकुमार श्रेष्ठ स्मृति राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको पुरुष व्यक्तिगत रिकर्भमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा रोशनले नेपाल प्रहरीका प्रेमप्रसाद पुनलाई ६–० तथा अशिमले खुम खुमाललाई ६–४ ले पराजित गरे ।
सोही स्पर्धाको महिलामा आर्मीकी आइशा तामाङले कास्कीकी विष्णुमाया लिम्बूलाई ७–१ तथा आर्मीकी मित्र राईले कास्कीकी रश्मी दर्लामीलाई ६–४ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।
पुरुष रिर्कभ टिममा आर्मीले कास्कीलाई ६–४ तथा नेपाल मगर समाजले प्रहरीलाई ६–२ ले पाखा लगाउदै फाइनल यात्रा तय गरे ।
पुरुष व्यक्तिगत कम्पाउन्डमा राजधानीका सनातन मल्लले कास्कीका योगेन्द्र शेरचनलाई १३७–१३६ तथा बेस्ट आर्चरी क्लबका प्रसदा आचार्यले थसाङ स्पोर्ट्स क्लबका रमेश भट्टचनलाई १३२–१३१ ले पन्छ्याउदै स्वर्ण भिडन्त पक्का गरे । पुरुष व्यक्तिगत स्ट्यान्डर्डमा अन्नपूर्ण आर्चरी क्लबका राजकुमार छन्त्यालले हिमालयन भोटे क्लबका राजु छन्त्याललाई ६–० तथा अन्नपूर्णका सुमन गुरुङले बेस्टका प्राण्जल राईलाई ६–० ले निराश पार्दै फाइनलमा स्थान बनाए ।
नेपाल आर्चरी संघद्वारा आयोजित प्रतियोगिताको महिला व्यक्तिगत स्ट्यान्डर्डमा अन्नपूर्णकी अनुशा गुरुङले आर्मीकी कल्पना अधिकारीलाई ६–० तथा बेस्टकी आश्ना लामाले आर्मीकी मन्जु बज्गाईंलाई ६–२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरे । पुरुष स्ट्यान्डर्ड टिममा अन्नपूर्णले थसाङ स्पोर्ट् क्लबलाई ५–३ तथा आर्मीले हिमालयनलाई ६–२ ले पाखा लगाउदै फाइनल यात्रा तय गरे ।
स्ट्यान्डर्ड मिक्समा अन्नपूर्णका राजकुमार छन्त्याल र अनुशा गुरुङको जोडीले एपीएफका लक्षुमन तामाङ र गीता खत्रीको जोडीलाई ६–० तथा बेस्टका प्राण्जल राई र आश्ना लामाको जोडीले आर्मीका कमल दानी र मन्जु बज्गाईंको जोडीलाई ६–४ ले हराउदै फाइनल भिडन्त पक्का गरे ।
प्रतियोगिताको पुरुषमा ४७ र महिलामा १९ गरी ६६ खेलाडी सहभागी छन् । शनिबार सम्पन्न हुने प्रतियोगितामा ८ स्पर्धा समावेश छन् ।
प्रतियोगिताको राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले एक कार्यक्रमबीच उद्घाटन गरे ।