काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लब 'ए' टिमका मनिषा खाँड र पुष्पा पल्परियाको जोडी पोखरामा जारी छैटौं महिला तथा सातौं पुरुष राष्ट्रिय विच भलिबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
फेवातालको किनारमा शुक्रबार भएको खेलमा मनिषा र पुष्पाको जोडीले प्रदेश ५ को 'ए' टिमलाई २-० को सोझो सेटमा पराजित गर्यो । मनिषा र पुष्पाको जोडीले प्रदेश ५ की भावना डाँगी र शर्मिला नेपालीको जोडीलाई २१-१७ र २१ -१६ को सेटमा पराजित गरेको हो ।
जितसंगै आर्मीको 'ए' टिमले समूह 'ए' बाट लगातार दोस्रो जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । यसअघि बिहिबार भएको खेलमा मनिषा र पुष्पाको जोडीले प्रदेश ३ लाईहराएको थियो ।
यस्तै महिलातर्फ शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबको 'ए' टिमले कर्णाली प्रदेशको 'ए' टिमलाई २१-७ र २१-१ को सेटमा पराजित गरेको छ ।
महिलामै प्रदेश १ को 'ए' टिमले गण्डकी प्रदेशको 'ए' टिमलाई २१-१९,२१-१५ को सेटमा पराजित गर्यो । त्यस्तै प्रदेश ३ को 'ए' टिमले प्रदेश १ को 'बी' टिमलाई २१-१९ र २१-१२ तथा कर्णाली 'ए' टिमले कर्णाली 'बी' टिमलाई २१-१७ र २१-१५ को सेटमा हराएको छ ।
नेपाल भलिबल संघको आयोजना र कास्की जिल्ला भलिबल संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय क्लबका २० महिला र पुरुष गरि ४० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको महिला र पुरुष विजेताले समान ३० हजार, दोस्रो हुने टोलीले २० हजार र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै संघले यसै प्रतियोगिताबाट खेलाडी छनोट गरेर राष्ट्रिय टोलीको चयन गर्ने जनाएको छ । प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुने टोलीका खेलाडी समेटेर क्लोज क्याम्प गर्दै राष्ट्रिय टिम बनाइने संघले जनाएको छ ।
यसै डिसेम्बरमा नेपालमा हुन लागेको १३ औं दक्षिण एसियाली विच भलिबलको तयारीका लागि संघले प्रतियोगिता गर्न लागेको समेत जनाएको छ ।