काठमाडौं । नेपाल पुलिस क्लबका चन्द्र कुंवर र तोरण चन्दको जोडीले छैटो राष्ट्रिय बिच भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
पुरुषतर्फको स्पर्धामा चन्द्र र तोरणको जोडीले एपीएफका महेन्द्र श्रेष्ठ र विजय थापामगरको जोडीलाई २१–१८ र २१–९ को सोझो सेटमा पराजित गरे ।
त्यस्तै आर्मीका मानबहादुर श्रेष्ठ र दिल सुनुवारको जोडीले कर्णाली प्रदेश बी लाई २१–५ र २१–१३ को सोझो सेटले पराजित गरे ।
गण्डकी प्रदेशका सन्जु विक्रम शाह र रमेश केसीको जोडीले पुलिसका धुव्र केसी र प्रकाश कटुवालको जोडीलाई २१–१२ र २१–१२ को सोझो सेटमा पराजित गर्दै विजय सुरुवात गरेका छन् ।
त्यस्तै महिलातर्फ पुलिसका कोपिला उप्रेती र निता शाहको जोडीले एपीएफका शशी चौधरी र पूजा चौधरीको जोडीलाई २१–६ र २१–१२, पुलिसकी मनिषा चौधरी र पुष्पा चौधरीको जोडीले गण्डकीका रुपा थापा र पूर्णिमा ठाकुरको जोडीलाई २१–१४ र २१–१५ को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेका छन् ।
महिलातर्फ एपीएफका विनिता बुढाथोकी र नेबिका चौधरीको जोडीले प्रदेश ५ का राधा बुढाथोकी र अन्जना बुढाथोकीको जोडीलाई २१–१३ र २१–५ तथा आर्मीकी मनिषा खाँड र पुष्पाको जोडीले प्रदेश ३ लाई २१–१३ र २१–६ ले हराउंदै विजयी सुरुवात गरेका छन् ।
प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र तथा नेपाली सेनाको गरी तीन विभागीय तथा सात प्रदेशका एक-एक टिमबाट पुरुष तथा महिलाको छुट्टाछुट्टै दुई-दुई टिम गरी कुल ४० टिमले प्रतिष्पर्धा गर्ने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले बताए ।
विजेता महिला तथा पुरुष टोलीले समान नगद ३०-३० हजार प्राप्त गर्ने छन् । द्वितीय हुनेले २०-२० हजार तथा तेस्रो हुने टोलीले १०-१० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट महिला तथा पुरुष दुवै खेलाडीलाई पनि नगद ३-३ हजारबाट पुरस्कृत गरिने बताइएको छ । तीन दिनसम्म आयोजना हुने प्रतियोगिता सम्पन्न गर्न २२ लाख ५० हजार खर्च लाग्ने संघले जनाएको छ ।