काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले नेदरल्याण्ड्सका प्रशिक्षक हान एबिङसँग प्रशिक्षण सुरु गरेका छन् ।
नेपाली टोलीले बिहिबारबाट डच प्रशिक्षक एबिङसँग प्रशिक्षण सुरु गरेका हुन् । नेपाली टोलीलाई प्रशिक्षण दिन प्रशिक्षक एबिङ बुधबार नेपाल आईपुगेका थिए ।
प्रशिक्षक एबिङले पहिलो दिन नेपाली टोलीसँग परिचयात्मक कार्य गरेका थिए ।
नेपालमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि डच प्रशिक्षक एबिङ नेपाल आएका हुन् ।
अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीभी) ले प्रशिक्षक एबिङलाई नेपाल पठाएको हो । प्रशिक्षक एबिङले नेपाली टोलीलाई तीन महिना प्रशिक्षण दिने छन् । प्रशिक्षक एबिङको सम्पुर्ण खर्च एफआईभीभीले व्यहोर्ने छ ।
एसियन भलिबल संघको संयोजनमा आयोजना हुने सेन्ट्रल जोनमा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता साउन ३२ देखि भदौ ८ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगिताको लागि नेपालले २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
तस्बिर : रमेश सुवेदी\खेलपाटी