नुवाकोट । विभागीय टिम त्रिभुवन आर्मी क्लबले नुवाकोटमा जारी प्रथम उप-मेयर कप रााष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।
सोमबार भएको खेलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी तेस्रो भएको हो ।
कोलनीस्थित नुवाकोट जिल्ला खेलकुद विकास समितिको कोर्टमा आर्मीले पुलिसलाई २५-१९,२५-२१ र २५-८ को सेटमा पराजित गर्यो ।
तेस्रो भएसंगै आर्मीले ४० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगिताको फाइनलमा भने होङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमी र विभागीय टोली नेपाल एपीएफ क्लबबीच खेल हुनेछ । फाइनल खेल अपरान्ह ४ बजे हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ७५ हजार पाउनेछन् । त्यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ५ हजार र व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही ३-३ हजार पाउने छन् ।