काठमाडौं । अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा आयोजना भएको मैत्रीपूर्ण भलिबलमा नेपाल निलो टिमले जित हासिल गरेको छ ।
शनिबार भएको खेलमा कुल बहादुर थापाको कप्तानीमा रहेको नेपाल निलोले ईम रानाको कप्तानीमा रहेको नेपाल रातो टिमलाई २-१ को सेटमा पराजित गर्यो ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा नेपाल निलोले रातोमाथि २५-२३, २१-२५ र १५-१३ को सेटमा पराजित गर्यो ।
नेपाल भलिबल संघले नेपालमा आयोजना हुन लागेको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि क्लोज क्याम्पमा रहेका खेलाडीलाई दुई टिममा विभाजन गरेर प्रतिस्पर्धा गराएको हो ।
आगामी साउन ३२ देखि भदौ ८ गतेसम्म संचालन हुने प्रतियोगिताको लागि क्याम्पमा २५ खेलाडी बोलाईएको छ ।
सेन्ट्रल जोनमा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।