काठमाडौं । साविकको विजेता तथा विभागीय टिम त्रिभुवन आर्मी क्लब चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको दोस्रो सेमिफाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा रोमान्चक बनेको आर्मीले पुलिसलाई १९-२५, २८-२६, २६-२४ र २५-१७ को सेटमा पराजित गर्यो । पहिलो सेट गुमाएपनि आर्मीले घरेलु कोर्टमा उत्कृष्ट पुनरागमन गरेको थियो ।
पुलिसलाई हराएसंगै आर्मी लगातार चौंथो बर्ष फाइनलमा पुगेको हो । आर्मी यस प्रतियोगिताको तीन पटकको च्याम्पियन समेत हो ।
यस्तै आर्मीले पुलिसविरुद्ध ताप्लेजुङमा भएको पाथिभरा भलिबल प्रतियोगिताको फाइनलमा व्यहोरेको हारको बदला समेत लिएको छ ।
अब आर्मीले सोमबार हुने फाइनलमा गण्डकी प्रदेशसंग खेल्नेछन् । पहिलो सेमिफाइनलमा एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै गण्डकी उपाधि नजिक पुगिसकेको छ ।
गण्डकीले एपीएफलाई २५-२३, २१-२५, २५-२३ र २९-२७ को सेटमा पराजित गरेको थियो ।
अब एपीएफ र पुलिसबीच शनिबार तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।
नेपाली सेनाको आयोजनामा जारी प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक प्राप्त गर्ने छन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन्।