काठमाडौं । पाँचौं संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता साउन अन्तिम साताबाट काठमाडौंमा आयोजना हुने भएको छ ।
नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता साउन ३२ देखि भदौ ८ गतेसम्म संचालन हुने जानकारी गराएको छ ।
एसियन भलिबल संघको संयोजनमा आयोजना हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै प्रतियोगितालाई नेपाल उद्योग वाणिज्य महासंघले प्रायोजन गरेको छ । संघ र महासंघबीच शुक्रबार प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा संघका अध्यक्ष मनोरन्जन रमण शर्मा र महासंघका उपाध्यक्ष उमेश लाल श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौतासंगै प्रतियोगिताका लागि महासंघले आयोजकलाई ४० लाख नगद उपलब्ध गराउने छन् । महासंघले शुक्रबार नै कार्यक्रममा ४० लाख बराबरको चेक संघलाई हस्तान्तरण गरेको थियो ।