काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लब समूह विजेता बन्दै चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा बिहिबार भएको लिग चरणको अन्तिम खेलमा पुलिसले प्रदेश नम्बर ३ लाई ३-० को सोझो सेटमा पराजित गर्यो । लिग चरणमा अपराजित पुलिसले प्रदेश ३ लाई २५-१४,२५-२० र २५-१८ को सेटमा पाखा लगायो ।
जितसंगै समूह 'ख' बाट पुलिसले ४ खेलबाट १२ अंक जोड्यो । र, समूह विजेता बन्दै अन्तिम चारको यात्रा तय गर्यो । प्रदेश ३ प्रतियोगिताबाट बाहिरिएको छ ।
यस समूहबाट गण्डकी प्रदेश उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । गण्डकीले ४ खेलबाट ९ अंक जोड्यो ।
यस्तै बिहिबार नै भएको खेलमा एपीएफले प्रदेश १ लाई ३-० को सोझो सेटमा पराजित गर्यो । र, समूह 'क' बाट समूह विजेता बन्दै सेमिफाइनलमा स्थान बनायो ।
लिग चरणमा अपराजित एपीएफले प्रदेश १ लाई २५-१४, २५-१६ र २५-१६ को सेटमा पराजित गर्यो ।
जितसंगै एपीएफले ४ खेलबाट १२ अंक जोड्यो । प्रदेश १ भने प्रतियोगिताबाट बाहिरिएको छ ।
यस समूहबाट आयोजक त्रिभुवन आर्मी क्लब समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग सफल भयो । आर्मीले ४ खेलमा ९ अंक जोडेको छ ।
योसंगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पुरा भएको छ । अब सेमिफाइनलमा पुलिसले साबिकको विजेता आर्मीसंग खेल्नेछ । यस्तै एपीएफले गण्डकी प्रदेशसंग खेल्नेछ । सेमिफाइनल खेल शुक्रबार हुनेछ ।
नेपाली सेनाको आयोजनामा जारी प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्दा उपविजेताले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक प्राप्त गर्ने छन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन्।