काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबका कप्तान इम बहादुर राना मगरले चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसले हात पार्ने दाबी गरेका छन् ।
ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारिरीक तालिम तथा प्रशिक्षक केन्द्रमा सञ्चालन भईरहेको प्रतियोगितामा इमले पहिलो पटक उपाधि उचाल्नेमा टिम विश्वस्त रहेको बताए ।
‘चौथो संस्करणसम्म आईपुग्दा हामीले जित्न सकेका छैनौँ । यसपटक अवसर छ । किन भने हामीले पछिल्लो समय आर्मीलाई पराजित गर्दै आईरहेको छौँ ।’ इमले भने ।
प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार तेस्रो जितको साथमा सेमिफाइलन प्रवेश गरेको छ । आर्मी समेत अन्तिम खेलमा विभागीय टिम एपीएफसँग पराजित भएपनि सेमिफाईनल यात्रा तय गरेको थियो । पुलिसले अव सेमिफाइनलमा त्रिभुवन आर्मीसँग खेल्नेछ ।
यसअघि भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र पाथिभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो । यस पटक पुलिसले आर्मीसँग सेमिफाइनलमै भिड्नेछ ।
कप्तान इमकै भनाई मान्ने हो भने यसपटक नेपाल पुलिस क्लबलाई सेमिफाइलन खेल गाह्रो हुनेछ ।
‘आर्मीले लगातार आफ्नै कोटमा उपाधि हात पार्दै आईरहेको छ । आर्मीलाई होम ग्राउण्डको राम्रो फाइदा पुग्नेछ । हामीले आउट ढोरमा अभ्यास गर्दै आईरहेको छौ । आर्मीले इन्डोरमा गर्छ । यसले गर्दा हामीलाई केहि समस्या हुन्छ ।’ कप्तान इम भन्छन् ।
तर घरेलु टोली आर्मीलाई बुधबार अर्काे विभागीय टिम एपीएफले ३–२ को सेटमा पराजित गरेको थियो ।
कप्तान इम भन्छन् ‘एपीएफले पराजित गरिसकेको छ । त्यसैले हामीलाई पनि कुनै दबाब हुदैन । जित्नकै लागि खेल्छौ ।’
पुलिसले प्रतियोगिताको पहिलो खेलमा कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा प्रदेश नम्बर ५ लाई ३–० कै सोझो सेट र गण्डकी प्रदेशलाई बुधबार सोझो सेटमा पराजित गरेको हो ।
जितसँगै एक खेल्न बाकी रहेको पुलिसको ९ अंक सहित सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
यस्तै आर्मीले प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश, दोस्रो खेलमा प्रदेश १ र २ लाई पराजित गर्याे भने समूहको अन्तिम खेलमा एपीएफसँग पराजित भएको थियो ।
कप्तान इमकले आर्मीविरुद्ध टिमको ब्लक र रिसिभ सदाझै बलियो भए जित निकाल्न सहज हुने बताए ।
‘हामीले ब्लक र रिसिभ अलिकति बलियो बनाउनु पर्छ । नतिजा हाम्रै पोल्टामा आउनेछ ।’ उनी थप्छन् ।
प्रतियोगितामा सबै टिमको एउटै लक्ष्य उपाधि जित्ने हुन्छ । पुलिस टिमले सोही उपाधिमा आफ्नो दाबेदारिता प्रस्तुत गरेको छ ।
कप्तान इम भन्छन् ‘सबैको जित्ने लक्ष्य हुन्छ । हाम्रो पनि छ । हामीले आउट ढोरमा हराईरहेका छौँ । यस पटकको इच्छा भनेको आर्मीलाई उसैको भुमिमा हराउने हो । सेमिफाइनलमा लक्ष्य पुरा गर्दै फाइनलमा उपाधि चुम्ने प्रयास गर्नेछौ ।’