काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा बुधबार भएको खेलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले सेमिफाइनलको यात्रा तय गरेको हो । प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा पुलिसले गण्डकीलाई २५-२१,२५-१५ र २५-१६ को सेटमा पाखा लगायो ।
जितसंगै समूह 'ख' बाट पुलिसले ३ खेलबाट ९ अंक जोड्यो । र, एक खेल अगाबै पुलिसले अन्तिम चारको यात्रा तय गर्यो ।
लिग चरणको आफ्नो अन्तिम खेलमा पराजित भएपनि गण्डकीले सेमिफाइनलमा स्थान पक्का गरेको छ । गण्डकीले ४ खेलबाट ९ अंक नै जोडेको छ । गण्डकीले अघिल्ला ३ खेलमा लगातार जित निकालेको थियो ।
यस समूहमा एक खेल खेल्न बाँकी रहेको प्रदेश ३ को ३ अंक रहेको छ । यस्तै प्रदेश ५ को पनि ३ अंक रहेको छ । एक खेल खेल्न बांकी कर्णालीले जित निकाल्न सकेको छैन ।
समूह 'क' एपीएफ र त्रिभुवन आर्मीले सेमिफाइनलमा स्थान पक्का गरेका छन् । बुधबार नै भएको खेलमा एपीएफले आर्मीलाई ३-१ को सेटमा पराजित गरेको थियो । रोमान्चक बनेको खेलमा एपीएफले आर्मीलाई २५-१४, २५-२१, २०-२५ र २५-२० को सेटमा पराजित गरेको थियो ।
जितसंगै समूह 'क' बाट एपीएफले ३ खेलबाट ९ अंक जोड्यो । र, एक खेल अगाबै एपीएफले सेमिफाइनलमा स्थान पक्का गर्यो । लिग चरणको आफ्नो अन्तिम खेलमा पराजित भएको आर्मीले ४ खेलमा ९ अंक जोडेको छ । आर्मीले सुरुवाती ३ खेलमा लगातार जित निकालेको थियो ।
अब अन्तिम खेलमा एपीएफले प्रदेश १ संग खेल्नेछ । उक्त खेलमा एपीएफलाई प्रदेश १ ले सोझो सेटमा पराजित गरेपनि आर्मी र एपीएफ सेमिफाइनलमा पुग्ने छ ।
प्रतियोगिता अन्तर्गत नै बुधबार समूह 'क' को प्रदेश १ ले सुदूरपश्चिम प्रदेशलाई ३-१ को सेटमा पराजित गर्दै दोस्रो जित निकालेको थियो । प्रदेश १ ले सुदूरपश्चिमलाई २५–२२, २५–१४, १४–२५ र २५–१३ को सेटमा पराजित गर्याे ।
जितसंगै समूह 'क' को प्रदेश १ ले ३ खेलबाट ६ अंक जोडेको छ । सुदूरपश्चिमले ३ खेलमा जित निकाल्न सकेको छैन । सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिसकेको छ ।
यस्तै समूह 'ख' को प्रदेश नम्बर ५ ले प्रदेश नम्बर ३ लाई ३-२ को सेटमा पराजित गरेको छ । प्रदेश ५ ले प्रदेश ३ माथि २५–१८, २५–१५, २३–२५, २०–१५ र १५–९ को सेटमा जित निकालेको हो ।
प्रदेश ५ को यो पहिलो जित हो । प्रदेश ५ ले ३ खेलबाट ३ अंक जोडेको छ । प्रदेश ३ को पनि ३ खेलबाट ३ अंक रहेको छ ।
नेपाली सेनाको आयोजनामा जारी प्रतियोगितामा ३ विभागीय टिम (त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ) सहित सात प्रदेशका गरि १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्दा उपविजेताले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक प्राप्त गर्ने छन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन्।