काठमाडौं । विभागीय टिम एपीएफ क्लबले चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा बुधबार घरेलु टिम त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले लगातार तेस्रो जित निकालेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा एपीएफले आर्मीलाई २५-१४, २५-२१, २०-२५ र २५-२० को सेटमा पराजित गर्यो । योसंगै एपीएफले आर्मीसंग ताप्लेजुङमा भएको पाथिभरा भलिबलको सेमिफाइनलमा व्यहोरेको हारको बदला लिएको छ ।
जितसंगै समूह 'क' को एपीएफले ३ खेलबाट ९ अंक जोडेको छ । र, एपीएफले एक खेल अगाबै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
आर्मीको यो पहिलो हार हो । यसअघि आर्मीले लगातार ३ खेल जितेको थियो । आर्मीले ४ खेलबाट ९ अंक जोडेको छ । अन्तिम लिग खेलमा पराजित भएपनि आर्मीले सेमीफाइनलमा स्थान बनाएको छ ।
अब अन्तिम खेलमा एपीएफले प्रदेश १ संग खेल्नेछ । उक्त खेलमा एपीएफलाइ प्रदेश १ ले सोझो सेटमा पराजित गरेपनि आर्मी र एपीएफ सेमिफाइनलमा पुग्ने छ । प्रदेश १ को ३ खेलबाट ६ अंक रहेको छ ।