काठमाडौं । प्रथम एन्जल्स हर्ट अन्तर विद्यालय/कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि थ्री स्टार एकडेमी बुढानिलकण्ठ र न्युटन हाइ स्कुल काठमाडौंले प्रतिस्पर्धा गर्ने भएका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा मंगलबार भएको पहिलो सेमिफाइनलमा न्युटनले स्पाइरल ग्यालेक्सी स्कुल पोखरालाई ३–१ का सेटमा पराजित गर्दै उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट न्युटनले २५–१८ ले आफ्नो पक्षमा पारेको थियो ।
दोस्रो सेटमा पनि न्युटन २५–२१ ले विजयी हुन सफल हुदै खेल आफ्नो पक्षमा पार्ने संकेत दिएको थियो । तेस्रो सेट स्पाइरल ग्यालेक्सी पोखराले २५–२२ ले खेल आफ्नो पक्षमा पार्दै खेला फर्कने संकेत दिएका थिए । तर, चौथो सेट न्युटनले २५–२२ ले जित्दै ३–१ को जित निकाल्दै फाइनलमा पुग्न सफल भयो ।
दोस्रो सेमिफाइनलमा थ्री स्टारले सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) लाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिका लागि न्युटनसँगको भेट पक्का गर्यो । थ्री स्टारले पहिला सेटमा २५–२२ को प्रतिस्पर्धात्मक जित निकालेपनि त्यसपछिको दुवै सेट २५–८ र २५–९ ले सहजै आफ्नो पक्षमा पार्दै उपाधिनजिक पुगेको हो ।
प्रतियोगिताको विजेताले १ लाख रुपैया हात पार्नेछन् । दोस्रो हुनेले ५० हजार, तेस्रोले २५ हजार तथा सान्त्वनाले १५ हजार रुपैया हात पार्नेछन् । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधातर्फ बेस्ट स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर, डिफेन्स र प्रशिक्षकले समान ५–५ हजार पाउनेछ ।