काठमाडौं । थ्री स्टार एकडेमी र न्युटन हाइ स्कुल राजधानीमा जारी प्रथम एन्जल्स हर्ट अन्तर विद्यालय/कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा सोमबा भएको खेलमा थ्री स्टारले भक्तपुरको स्प्रिङडेल हाइ स्कुललाई ३–१ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।
स्प्रिङडेलले विद्यामन्दिर बाग्लुङलाई बाहिरी विद्यार्थी खेलाएको आरोपसहित प्रोटेस्ट हाल्दै सफलता हात पारेपछि क्वाटरफाइनल खेल्ने मौका पाएको थियो । प्रि–क्वाटरमा स्प्रिङडेल विद्यामन्दिर बागलुङसँग ३–१ को सेटमा पराजित भएको थियो । तर, क्वाटरफाइनल खेल्ने मौका पाएको स्प्रिङडेल थ्री स्टारसँग पराजित हुन पुग्यो ।
थ्री स्टारले स्प्रिङडेलमाथि २५–२०, २०–२५, २५–२० र २५–२३ को जित निकाल्यो । त्यसअघि थ्री स्टारले लालीगुराँस एकेडेमीाथि ३–० को सहज जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । न्युटन हाइ स्कुलले पिताम्वर मावि स्याङ्जालाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । न्युटनले पिताम्वरमाथि २५–१९, १८–२५, २५–२० र २५–२१ को जित निकाल्न सफल भयो ।
अर्काे खेलमा पोखराको स्पाइरल ग्यालेक्सी स्कुलले लिटिल बुद्ध मावि महेन्द्रनगरलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । पहिलो सेट २५–२१ ले जितेको स्पाइरलले दोस्रो सेट २१–२५ ले नै गुमाएको थियो । तर, त्यसपछिको दुवै सेट स्पाइरलले २५–१६ र २५–१५ ले सहजै आफ्नो बनायो ।
सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव)ले आइतबारै सिद्धार्थ बहुमुखी क्याम्पसलाई ३–० का सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको थियो ।
अब सेमिफाइनलमा मंगलबार सेव र थ्री स्टार तथा न्युटन र स्पाइरलबीच खेल हुनेछ ।