काठमाडौं । आयोजक त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो जित हात पारेका छन् ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सोमबार प्रदेश नम्बर १ लाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मीले लगातार दोस्रो जित निकालेको हो । आर्मीले प्रदेश १ लाई २५-२० २५-१२ र २५-१७ को सेटमा पाखा लगायो ।
जितसंगै समूह 'क' को आर्मीले २ खेलबाट ६ अंक जोडेको छ । पहिलो खेलमा आर्मीले सुदुरपश्चिम प्रदेशलाई हराएको थियो । प्रदेश नम्बर १ को यो पहिलो हार हो । पहिलो खेलमा प्रदेश १ ले प्रदेश २ लाई हराएको थियो । प्रदेश १ को ३ अंक रहेको छ ।
यसै समूहको अर्को खेलमा एपीएफले प्रदेश २ लाई ३-० कै सेटमा हराएको छ । एपीएफले प्रदेश २ माथि २५-१९, २५-१४ र २५-१४ को सेटमा जित निकाल्यो । जितसंगै एपीएफले ३ अंक जोडेको छ ।
सोमबार नै गण्डकी प्रदेशले प्रदेश नम्बर ३ लाई ३-० को सेटमा पराजित गर्दै दोस्रो जित हात पार्यो । गण्डकीले प्रदेश ३ लाई २६-२४, २५-१४ र २५-१४ को सेटमा पराजित गर्यो ।
जितसंगै समूह 'ख' को गण्डकीले २ खेलबाट ६ अंक जोडेको छ । पहिलो खेलमा गण्डकीले प्रदेश ५ लाई पराजित गरेको थियो । प्रदेश ३ को यो पहिलो हार हो । यसअघि प्रदेश ३ ले प्रदेश ६ लाई हराएको थियो ।
यसै समूहको अर्को खेलमा नेपाल पुलिस क्लबले प्रदेश ६ लाई ३-० को सेटमा पराजित गर्यो । पुलिसले प्रदेश ६ माथि २५-१५, २५-२१ र २५-१५ को जित निकालेको हो । जितपछि पुलिसले ३ अंक जोडेको छ ।
नेपाली सेनाको आयोजनामा जारी प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्दा उपविजेताले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक प्राप्त गर्ने छन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन्।