काठमाडौं । त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा आइतबार भएको उद्घाटन खेलमा आर्मीले सुदुरपश्चिम प्रदेशलाई ३-० को सेटमा पराजित गर्यो ।
आर्मीले सुदुरपश्चिममाथि २५-१०,२५-१९ र २५-११ को सेटमा जित निकाल्यो । यो खेलसंगै आर्मीका कप्तान मान बहादुर श्रेष्ठ टिममा फर्किएका छन् । मानले विभागीय कारबाहीमा परेको कारण आठौं राष्ट्रिय खेलकुद र ताप्लेजुङमा सम्पन्न पाथिभरा भलिबल खेलेका थिएनन् ।
यस्तै प्रदेश नम्बर १ र प्रदेश नम्बर ३ ले पनि विजयी सुरुवात गरेका छन् ।
प्रदेश १ ले प्रदेश २ लाई २३-२५,२५-१९,२५-१९ र २५-१५ को सेटमा पराजित गर्यो ।
अर्को खेलमा प्रदेश ३ ले प्रदेश ६ माथि १८-२५, २५-१७, २५-१७ र २६-२४ को सेटमा हराएको छ ।
त्यस्तै गण्डकी प्रदेशले प्रदेश ५ लाई २५-११,२६-२८,२५-१६ र २५-२० ले पराजित गर्यो ।
नेपाली सेनाको आयोजनामा सुरु प्रतियोगितामा ३ विभागीय टिम (त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ) सहित सात प्रदेशका गरि १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिग कम आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्दा उपविजेताले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक प्राप्त गर्ने छन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन्।