काठमाडौं । सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) र न्युटन हाई स्कुलले प्रथम एन्जल्स हर्ट अन्तर विद्यालय कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
मनमैजुस्थित एन्जल्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरमा शुक्रबार भएको खेलमा सेवले आरुणी कलेजलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो । एकपक्षीय खेलमा सेवले आरुणीमाथि २५–१६, २५–१३ र २५–७ को सहज जित निकाल्यो ।
शुक्रबारकै अर्काे खेलमा उपाधिको दावेदारको रुपमा हेरिएको न्युटन हाई स्कुलले सेक्रेट हार्टलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ को यात्रा तय गर्यो । एकोहोरो खेलमा न्युटनले सेक्रेटमाथि २५–५, २५–१२ र २५–५ को सहज जित निकाल्यो ।
नयाँबसपार्कमा भएको खेलमा थ्री स्टार एकेडेमीले मणिमुकुन्द कलेज बुटवललाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम १६ को यात्रा तय गर्यो । थ्री स्टारले पहिलो सेट गुमाएर त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल भएको हो । पहिलो सेट २२–२५ ले गुमाएको थ्री स्टारको त्यसपछिको तीनै सेट २५–२०, २६–२४ र २५–१५ ले जित्न सफल भयो ।
यस्तै एन्जल्र्स हर्ट कलेजको दुवै टोलीले अन्तिम १६ मा स्थान बनाउन सफल भयो । एन्जल्र्स हर्ट एकेडेमीले नवोदित कलेजमाथि ३–१ को जित निकाल्यो । एन्जल्सले पहिलो सेट २१–२५ ले गुमाएपनि त्यसपछिको तीनै सेट एन्जल्सले प्रतिस्पर्धात्मक रुपमा आफ्नो बनाएको थियो ।
प्रतिस्पर्धात्मक दोस्रो र तेस्रो सेट एन्जल्सले २६–२४ र २६–२४ ले आफ्नो पक्षमा पार्दा चौथो सेट २५–१५ ले सहजै आफ्नो बनाएको थियो । अर्काे खेलमा एन्जल्सले हर्ट कलेजले हिमरश्मी स्कुलमाथि २५–१३, २५–२३ र २५–१९ को सहज जित निकाल्दै अन्तिम १६ को यात्रा तय गर्न सफल भयो ।
सिद्धार्थ एकेडेमीले मुकुलादेवी माविलाई २५–१४, २५–१८ र २५–१८ ले हरायो । पिताम्वर कलेजले डडेलधुरालाई २५–६, २५–२२ र २५–१२ ले पाखा लगायो । लिटिल बुद्ध एकेडेमीले युनाइटेड गोर्खा धरानलाई २५–१६, २५–१८ र २५–१२ ले पराजित गर्दै अर्काे चरण पुग्न सफल भयो ।
स्प्रिङडेलले अनलज्योति माविलाई २५–१६, २५–६ र २५–१३ ले पराजित गर्यो । लाली गुराँस एकेडेमीले कल्याणी माविलाई २५–१५, २५–१६ र २५–१५ ले हरायो ।
समूह ‘ए’ बाट ग्ल्यासियर र नेरिक स्कुल तथा समूह ‘बी’ बाट स्पाइल पोखरा र गीतान्जली कलेजले वाकओभर पाउदै अन्तिम १६ मा पुग्न सफल भयो ।
२१ जेठसम्म सञ्चालन हुने प्रतियोगितामा देशैभरबाट ५३ विद्यालयहरुको सहभागिता रहेको छ । सहभागी टोलीलाई १६ समूहमा विभाजन गरिएको छ ।