काठमाडौं । पहिलो संस्करणको एन्जल्स हार्ट अन्तर विद्यालय तथा कलेज स्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ ।
आयोजक एन्जल्स स्पोर्ट्स एकेडमी एण्ड रिक्रिएसन सेन्टरले मंगलबार पत्रकार सम्मेलन गर्दै बिहिबार सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।
काठमाडौंको मनमैजुस्थित एकेडमीको मैदान र ढोरपाटन स्पोर्ट्स क्लबको मैदानमा जेठ २१ सम्म चल्ने प्रतियोगितामा ५३ टोलीको सहभागिता रहनेछ ।
सहभागी टोलीलाई १६ समूहमा विभाजन गरिएको छ । हरेक समूहको बिजेताले क्वाटरफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको क्वाटरफाइनलसम्मको खेल बेष्ट अफ थ्री र त्यसपछिका बेष्ट अफ फाइभको आधारमा खेलाईने छ ।
प्रतियोगितामा ९ कक्षा देखि १२ कक्षा सम्मका खेलाडीले मात्र खेल्न पाउने छन् । प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख प्राप्त गर्दा उपविजेताले ५० हजार प्राप्त गर्नेछ । यस्तै तेस्रोले २५ हजार र सान्त्वना विजेताले १५ हजार पाउने छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने छन् । यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर, डिफेन्स र प्रशिक्षकले समान ५/५ हजार पाउने प्रतियोगिता संयोजक दिलबहादुर बुढाथोकीले जानकारी गराए ।