काठमाडौं । राष्ट्रिय खेल भलिबलको ओलम्पिक सोलीडारीटी कोचेज लेभल वन कोर्स सुरु भएको छ । नेपाल ओलम्पिक कमिटिको सहकार्य पाँच दिने कोर्स सोमबारबाट सुरु भएको हो ।
नेदरल्याण्ड भलिबल संघको संयोजन र नेपाल भलिबल संघको आयोजनामा संचालन भएको कोर्समा ४० जना प्रशिक्षकको तालिममा सहभागि रहेका छन् । कोर्समा हाल नेपाली टिमबाट भलिबल खेल्दै गरेका खेलाडी देखि बिद्यालयका प्रिन्सिपल सम्मले सहभागिता जनाएका छन् ।
आर्मीको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा संचालन हुने कोर्समा कतार र फिलिपिन्सका २ जना बिदेशी प्रशिक्षकले पनि सहभागिता जनाएका छन् । कोर्समा सहभागीलाई अफआईभिबिका प्रशिक्षक जोङले प्रशिक्षण दिने छन् ।
नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखेले कोर्सको उद्घाटन गरे । उद्घाटन अवसरमा संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, सशस्त्र प्रहरी बलका पूर्व आईजीपी दोर्जकुमार राई,संघका महासचिव जितेन्द्रवहादुर चन्द लगायतको उपस्थिति रहेको थियो ।
यस्तै उद्घाटनका अवसरमा नेदरल्याण्ड भलिबल संघबाट उपलब्ध गराएको बीच भलिबल नेट र बल प्रशिक्षक जोङले नेपाल भलिबल संघका अध्यक्ष शर्मालाई हस्तान्तरण गरेका थिए ।
आगामी साग खेलका लागि खेलाडी छनोट गर्न राष्ट्रिय बिच भलिबल पोखरामा यहिँ जेठ २८ देखि हुदैछ ।