काठमाडौं । चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता अर्को साताबाट सुरु हुने भएको छ ।
आयोजक नेपाली सेनाले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ १९ बाट २६ गतेसम्म संचालन हुने जनाएको छ ।
सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा हुने प्रतियोगितामा ३ विभागीय टिम (त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ) सहित सात प्रदेशका गरि १० टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
लिग कम आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्दा उपविजेताले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक प्राप्त गर्ने सेनाका केन्द्रपति महासेनानी शशी किरण राईमाझीले जानकारी गराए । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन्।
प्रतियोगिताको पहिलो दिन चार खेल हुनेछ । पहिलो खेलमा प्रदेश २ र प्रदेश १ प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा कर्णाली र प्रदेश ३ बीच खेल हुनेछ । यस्तै तेस्रो खेलमा आयोजक आर्मी र सुदुरपश्चिम खेल्दा अन्तिम खेलमा गण्डकीले प्रदेश ५ को सामना गर्ने छन् ।
अनुमानित २२ लाख खर्च हुने प्रतियोगिताका लागि मुख्य प्रायोजक इन्भेन्ट्मेन्ट बैंकले १५ लाख उपलब्ध गराउने छन् । अन्य रकम सेनाले व्यहोर्ने छ ।
यस्तै विभागीय टिम बाहेक अन्य प्रदेशका टिमको सम्पूर्ण खर्च आयोजकले व्यवस्था गर्नेछ ।