काठमाडौं । होङ्गवान्जी न्यू डायमण्ड एकेडमी 'ए' की रिया कुँवर दोस्रो संस्करणको चन्द्रागिरी उपमेयर कप अन्तर विद्यालय छात्रा भलिबल प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बनेकी छिन् ।
न्यू डायमण्ड एकेडमीलाई च्याम्पियन बनाउन उत्कृष्ट भूमिका खेलेकी रिया सर्वोकृष्ट चुनिएकी हुन् । रियाले नगद १५ सयसहित ट्रफी हात पारिन् ।
शनिबार भएको फाइनलमा पारामाउण्ट इन्ग्लिश स्कुललाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले उपाधि जितेको थियो ।
यस्तै व्यक्तिगत विधातर्फ पनि न्यू डायमण्डका खेलाडीको वर्चश्व रह्यो ।
प्रतियोगितामा उत्कृष्ट सर्भर पारामाउण्टका अनिशा श्रेष्ठ चुनिए । अन्य विधामा न्यू डायमण्डका खेलाडी उत्कृष्ट बने । प्रतियोगिताको उत्कृष्ट डिफेन्डरमा एन्जिला प्रधान, ब्लकरमा सोनी थपलिया, सेटरमा अनिशा सुनुवार र स्पाइकरमा प्रेक्षा राई उत्कृष्ट चुनिए ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनले जनही १/१ हजार र ट्रफी हात पारे ।