काठमाडौं । होङ्गवान्जी न्यू डायमण्ड एकेडमी 'ए' ले दोस्रो संस्करणको चन्द्रागिरी उपमेयर कप अन्तर विद्यालय छात्रा भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा पारामाउण्ट इन्ग्लिश स्कुललाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड च्याम्पियन बनेको हो ।
नैकापस्थित न्यू डायमण्ड एकेडमीको खेल मैदानमा घरेलु टोलीले पारामाउण्टलाई २५-११, २५-२० र २५-२१ को सेटमा पराजित गर्यो ।
उपाधिसंगै न्यू डायमण्डले नगद ६० हजार हात पारेको छ । उपविजेता पारामाउण्टले ३० हजार प्राप्त गर्यो ।
यस्तै तेस्रो भएको थ्री स्टार एकेडमीले १५ र चौथो बनेको विजेश्वरी ज्ञानमन्दिर स्कुलले १० हजार हात पार्यो । तेस्रो स्थानको लागि भएको खेलमा थ्री स्टारले विजेश्वरीलाई २५-१९,२५-१९ र २७-१७ को सेटमा पराजित गर्यो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी चन्द्रागिरी नगर कमिटिको आयोजनामा भएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।