काठमाडौं । होङ्गवान्जी न्यू डायमण्ड एकेडमी 'ए' दोस्रो संस्करणको चन्द्रागिरी उपमेयर कप भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
नैकापस्थित न्यू डायमण्ड एकेडमीको खेल मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा विजेश्वरी ज्ञानमन्दिर स्कुललाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड उपाधि नजिक पुगेको हो । न्यू डायमण्डले विजेश्वरीमाथि २५-३, २५-१० र २५- ५ को सेटमा पराजित गर्यो ।
अब न्यू डायमण्डले उपाधिका लागि पारामाउण्ट इन्ग्लिश स्कुल र थ्री स्टार एकेडमीबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।
शुक्रबार भएको दोस्रो सेमिफाइनल खेल खराब लाइटका कारण स्थगित भयो । खेलमा पारामाउण्ट २५-१९,२५-१४ र २०-२५ को सेटमा अघि रहेको थियो । स्थगित दुईबीचको खेल शनिबार बिहान सुरुबाटै हुनेछ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी चन्द्रागिरी नगर कमिटिको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ६० हजार हात पार्नेछन् भने उपविजेताले ३० हजार पाउनेछन्। यस्तै तेस्रोले १५ तथा चौथोले १० हजार हात पार्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ हजार ५ सय र विधागत उत्कृष्टहरुले समान १/१ हजार पाउने छन् ।