काठमाडौं । विजेश्वरी ज्ञानमन्दिर स्कुल र पारामाउण्ट इन्ग्लिश स्कुल दोस्रो संस्करणको चन्द्रागिरी उपमेयर कप भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नैकापस्थित न्यू डायमण्ड एकेडमीको खेल मैदानमा शुक्रबार भएको सेमिफाइनलमा विजेश्वरीले होङ्गवान्जी न्यू डायमण्ड एकेडमी 'बी' लाई २-० को सोझो सेटमा पराजित गर्यो ।
आयोजकलाई घरेलु कोर्टमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्ने क्रममा विजेश्वरीले २५-१९ र २५-१० को सेटमा पराजित गर्यो ।
यस्तै पारामाउण्टले ज्ञानसुधा एकेडमीलाई २५-१० र २५-९ को सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो ।
योसंगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पुरा भएको छ । अब सेमिफाइनलमा होङ्गवान्जी न्यू डायमण्ड एकेडमी 'ए' र विजेश्वरी तथा पारामाउण्ट र थ्री स्टार एकेडमीबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल खेल शुक्रबार बेलुका हुनेछ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी चन्द्रागिरी नगर कमिटिको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ६० हजार हात पार्नेछन् भने उपविजेताले ३० हजार पाउनेछन्। यस्तै तेस्रोले १५ तथा चौथोले १० हजार हात पार्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ हजार ५ सय र विधागत उत्कृष्टहरुले समान १/१ हजार पाउने छन् ।