काठमाडौं । सन् २००८ अगष्ट २८ तारिख ।
बैदेशिक रोजगारीका लागि कतार पुगेका दिगम सिंह चेम्जोङ मोटरसाईकल दुर्घटनामा परे ।
लगत्तै उनलाई अस्पतालमा लगियो । शल्यक्रियापछि होसमा आउँदा उनका खुट्टा चल्न छाडेका थिए ।
डाक्टरले मेरुदण्डमा भएको पक्षघातका कारण खुट्टा चल्न नसक्ने बताएपछि उनी आकाशबाट भुँईमा पछारिए जस्तै भए ।
सोचे, अब मेरो सम्पुर्ण जिवन सकियो ।
विदेशको ठाउँमा रुनलाई उनले न आमाको काख पाए, न बुवाको साथ ।
परिवारको एक्लो छोरा अनि बुढेशकालको साहाराको त्यो हबिगतले परिवारमा सन्नाटा छाउने नै भयो । आमाको मन रुने नै भयो ।
परिवारमा एकपछि अर्को बज्रपात पर्न थाल्यो । दुर्घटनाको ५/६ महिना पछि उनको बाबुको समेत निधन भयो । नेपाल प्रहरीका रिटायर्ड उनले उच्च रक्तचापका कारण प्राण त्यागे । यता दिगम अस्पतालको लामो बसाईपछि नेपाल फर्किए ।
दुर्घटनाप्रति उनलाई अझै विश्वास भएको थिएन । जिन्दगीसंग उनले बिस्तारै हार खान थालेका थिए ।
‘आफुलाई स्विकार गर्नै गाह्रो भयो । मलाई अझै पनि त्यो दिन याद छ, जब गेटबाट व्हिलचियरमा बाहिर निस्किएको थिए । एक मनले सबै कुरा बिर्सिएर जिन्दगी अघि बढाउनुपर्छ भन्ने लाग्थ्यो । तर केहीले दयाको भावमा जिब्रो टोक्दा मन खिन्न हुन्थ्यो ।’ उनी सम्झिन्छन् ।
छोराको अवस्था देखेर आमा अझ पनि चिन्तित थिईन् । कतै जान परे आमा सोध्ने गर्थिन, ‘कसरी जान्छस् ? विचार गरेर हिड्, फेरी लड्लास् । भएका दुई हात नि भाँचिएलान् ।’ ‘केही हुँदैन आमा । बसिरहदाँ ढाड दुख्छ । झन् एकै ठाउँमा बस्दा गाह्रो हुन्छ । बरु कतै घुम्न जाउँ न है ।’ उनी आमालाई फकाउथे ।
'विदेश गएर गल्ती गरिएछ । अहिलेको जस्तो विवेक भएको भए, यही ठाउँमा केही गरेका भए, लगानी गरेको भए, अवस्था यस्तो थिएन ।’ उनका मनमा यस्तै तर्कना मात्र खेल्थे ।
एक दिन उनले युट्युबमा अशक्तहरुले क्रिकेट खेलेको देखे ।
उनलाई पनि खेल्ने इच्छा पलायो । उनले समेत ब्याट र बल समाउन निधो गरे ।
अनि जिवनको नयाँ अध्यायले उनलाई पर्खी बसेका रहेछ ।
उनै दिगम गत बुधबार व्हिल चियर एसिया कपमा नेपालको नेतृत्व गर्दै मैदानमा देखिए । उनैको नेतृत्वमा नेपालले तीन म्याच खेल्यो ।
दुर्भाग्यवस तीनै खेल नेपालले गुमायो । तर घरेलु भुमीमा भएको प्रतियोगिताको नेतृत्व गर्दै दिगमले खेल जिवनमा एउटा ईतिहास रच्ने मौका पाए ।
दिगमको खेल जिवनमा क्रिकेट धेरै पछि मात्र आएको हो । क्रिकेट अघि उनले बास्कटेबल, टेबल टेनिस र पौडी पनि खेलेका थिए ।
स्पाइनल सर्पाेट नामक संस्थाले नेपालका अशक्तलाई बास्केटबलको ट्रेनिङ दिने गर्दथ्यो ।
सोही संस्थाले दोस्रो पटक पौडी प्रतियोगिताको आयोजना गर्ने भयो । बास्केटबल सिक्दै गरेका दिगमले पौडी सिक्ने निर्णय लिए ।
प्रतियोगिता आउन करिब तीन हप्ता जति बाँकी थियो । उनले जोरपाटीको क्लबमा पैसा तिरेर दैनिक ट्रेनिङ गर्न थाले ।
उनले प्रतियोगिता खेल्ने कुरा घरमा पनि थाहा थिए । आमा र दिदीलाई हेर्न पनि बोलाए । दिगमले खेलेको हेर्दा आमा आफ्नो आँशु रोक्न सक्दिन थिईन् । तर छोराको खेल हेर्न आएकीनै हुन्थिन् ।
दिगमले पहिलो सहभागितामै स्वर्ण पदक जिते ।
स्विमिङमा स्वर्ण जितेर पुल बाहिर उनी के निस्किएका थिए, एक जना अपरिचित आएर एसियन गेम्समा लैजाने भन्दै कागजमा हस्ताक्षर गर्न आग्रह गरे । उनले प्रस्ताव अस्विकार गरिदिए ।
पछि थाहा पाए, ती व्यक्त खेलाडीलाई बाहिर पठाउने व्यापार गर्ने रहेछन् ।
पुन: एक पटक दिगम एसियन च्याम्पियनसिपमा छनोट भए, तर उनीसंग एक लाख रुपैयाँ मागियो । त्यत्रो पैसा तिरेर बाहिर खेल्ने जाने हैसियत कहाँ थियो र ? अन्तिममा २० हजार दिएर अन्तराष्ट्रिय प्रतियोगिता खेल्न पुगे ।
एसियन च्याम्पियनसिपमा पुगेपछि उनले थाहा पाए, खेल के हो ? अशक्तले कसरी खेल्ने ?
त्यहाँ पुगेपछि उनले खेल जिवनलाई नजिकबाट नियाल्न पाए । प्रतियोगितामा त उनी धेरै अघि बढ्न सकेनन् तर खेल जीवन अघि बढाउने धेरै सुत्र उनले फेला पारेका थिए । त्यसपछि दिगमले पौडी खेल्न छाडिदिए ।
नेपालमा पौडीको अवस्था समेत राम्रो थिएन\छैन । ६ महिना मात्र खेल्न पाईने । अरु बेला अभ्यास गर्न नपाईने जस्ता कारण थिए ।
उनले काठमाडौंमा आयोजना भएको अन्तराष्ट्रिय बास्केटबल पनि खेले । बंगलादेशमा भएको एक्सन बास्केटबलको उपाधि समेत जिते ।
नेपाल फर्किएपछि उनी जोरपाटीमा टेबल टेनिस खेल्ने ठाउँमा समेत पुगे । पारा टेबल टेनिस एसोसियसनले साना बालबालिकालाई अभ्यास गराउने रैछ ।
उनले पनि खेल्ने इच्छा ब्यक्त गरे । प्रशिक्षकलाई ब्याट ल्याउन १४ सय दिए । उनी दैनिक क्लब धाउथे, खेलेको हेर्थे । अरुका ब्याट उनले चलाउन पाएनन् ।
करिब ४ महिनापछि उनको समेत ब्याट आईपुग्यो । अरुको खेल हेर्दा उनले डिफेन्स गर्न र बल हान्न सिकिसकेका थिए । ब्याट पाएपछि उनले कसरी समाउने भन्ने कुरा पहिले थाहा पाए ।
उनी खेल्दै गए । अन्तिममा उनी टेबल टेनिसका २ पटक च्याम्पियन भए ।
खेलबाट अपाङ्ग भएका व्यक्तिलाई धेरै फाईदा पुग्ने दिगम बताउँछन् । खेलकुदबाट समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्ने उनको विश्वास छ ।
‘खेलबाट समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुन्छ । हामीलाई पर्याप्त व्यायाम चाहिन्छ, खेलबाट पुरा हुन्छ । अर्काे महत्वपूर्ण कुरा भनेको नकारात्मक कुरा सोच्ने समय हुँदैन । साथै अरुमा निर्भर हुन पर्दैन ।’ उनी थप्छन्, ‘खेलले धेरैनै मद्दत गरेको छ । अहिले घर परिवारबाट पनि पुरा साथ, सहयोग छ ।’