ताप्लेजुङ । विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
साँघुस्थित नारायणी माविको खेल मैदानमा सोमबार आर्मीले टियु विश्वबिद्यालय टिमलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
७ जना राष्ट्रिय टोलीका खेलाडीसहित मैदान उत्रिएको आर्मीले विश्वबिद्यालय टिमलाई २५-१३, २५-१३ र २५-१५ को सेटमा पराजित गर्यो । विश्वबिद्यालय टिम पनि क्वाटरफाइनल प्रवेश गरेको छ ।
अब आर्मीले मंगलबार प्रदेश नम्बर २ संग खेल्नेछ । प्रदेश २ पहिलो खेलमा गण्डकीसंग पराजित भएको थियो ।
यस्तै एपीएफले प्रदेश ३ लाई ३-० को सोझो सेटमा पराजित गर्यो । एपीएफले प्रदेश ३ लाई २५-१६,२५-१५ र २५-२४ को सेटमा हरायो । पराजित प्रदेश ३ पनि क्वाटरफाइनल पुगेका छन् ।
अब एपीएफले मंगलबार प्रदेश १ संग खेल्नेछ । प्रदेश १ ले पहिलो खेलमा साविकको विजेता नेपाल पुलिस क्लबसंग पराजित भएको थियो ।
यस्तै मंगलबार हुने अन्य खेलमा पुलिसले प्रदेश ३ संग र गण्डकी प्रदेशले विश्वबिद्यालयसंग प्रतिस्पर्धा गर्ने आयोजक जलजले युवा क्लबका अध्यक्ष दिवश लिम्बुले जानकारी गराए ।
प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने छ । यस्तै उपविजेताले १ लाख ७६ हजार २५१ नगद प्राप्त गर्दा सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०-५० हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार पाउने छन् । व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७-७ हजार पाउने छन् । हरेक खेलको म्यान अफ दि म्याचलाई २ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।