ताप्लेजुङ । साविकको विजेता नेपाल पुलिस क्लब तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
साँघुस्थित नारायणी माविको खेल मैदानमा सोमबार समूह 'ए' मा प्रदेश नम्बर १ लाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
पाँच राष्ट्रिय टोलीका खेलाडीसहित मैदान उत्रिएको पुलिसले प्रदेश १ लाई २५ -८, २५-१८ र २५-९ को सेटमा पराजित गर्यो । पुलिसलाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गरेका कुल बहादुर थापा म्यान अफ दि म्याच बने ।
पुलिस आठौं राष्ट्रिय खेलकुदको विजेता टोली समेत हो ।
प्रतियोगितामा ८ टोली सहभागी भएको कारण प्रदेश १ पनि क्वाटरफाइनलमा पुगेको छ ।
यस्तै गण्डकी प्रदेशले पनि क्वाटरफाइनलमा स्थान बनाएको छ । गण्डकीले प्रदेश २ लाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
गण्डकीले प्रदेश २ लाई २५-१६,२५-१५ र २५-१६ को सेटमा हरायो । प्रदेश २ पनि क्वाटरफाइनल पुग्यो ।
जलजले युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताकोविजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने छ । यस्तै उपविजेताले १ लाख ७६ हजार २५१ नगद प्राप्त गर्दा सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०-५० हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार पाउने छन् । व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७-७ हजार पाउने छन् । हरेक खेलको म्यान अफ दि म्याचलाई २ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।